पहिलोपटक नेपालमा भयो इन्टरनेट हड्ताल

काठमाडौं, साउन १७ – नेपालमा मंगलबार इन्टरनेट हड्ताल भएको छ । विश्वका कतिपय देशमा यो सामान्य मानिए पनि नेपालमा पहिलोपटक भएको हो । आफ्नै व्यक्तिगत सामाजिक सञ्जालको खाता मार्फत आफ्ना मुद्दालाई राष्ट्रियस्तर र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन कालो पृष्टभूमिमा BEWARE, खबरदार लेखिएको फोटो #SaveNepaValley भनेर अपलोड गरिएको छ ।

मुख्य गरी फेसबुक, ट्वीटर र इन्स्टाग्राममा यो फोटो पोष्ट गरिएको छ । विकासको नाममा विनास भएको भन्दै नेपाः उपत्यका बचाऔँ महाअभियानले इन्टरनेट हड्ताल गरेको अभियन्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । ‘सामाजिक संजाल नै कालो हुने गरि यो फोटो राख्ने हाम्रो योजना हो’ उहाँले भन्नुभयो ‘२४ घण्टाका लागि अन्य कुनै पोष्ट सामाजिक संजालमा नहालौँ । #SaveNepaValley भन्ने ह्यासट्याग राखेर केवल त्यही फोटो मात्र पोष्ट गरौँ । प्रोफाइल पिक्चर र कभर फोटो पनि यहि बनाऔँ ।’

‘यो इन्टरनेट हड्तालको २४ घण्टापछि हामी हाम्रो औपचारिक पेज नेपाः उपत्यका बचाऔँ महाअभियान अनि यहि ब्लगमा भोलि बिहान साउन १८ गते बिहान ७ बजे हाम्रो औपचारिक मागपत्र सार्वजनिक गर्नेछौ’ श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार मंगलबार बिहान ८ बजेदेखि सुरु अभियान बुधबार बिहान ८ बजे सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *