आफै रगत दिएर बिरामी बचाउँदै डाक्टर र स्वास्थ्यकर्मी

प्रकाश सिंह । बाजुराको गौमुल गाउँपालिका–२ की २० वर्षीया गिता रोकाया केही दिनअघि रक्तअल्पताको समस्याले जिल्ला अस्पतालमा भर्ना भइन् । अस्पतालका डा. टिकाराम राईले परीक्षण गर्दा उनको शरिरमा रगतको मात्रा एकदमै कम भएको पाइयो । डा. राईले गिताका आफन्तलाई रगत खोज्न आग्रह गरे । तर रक्तदाता कोही नपाएपछि उनी आफैले रगत दिए । विरामीको दिसा, पिसाब, नाक र मुखबाट समेत रगत बगिरहेको छ । डा. राईले दिएको एक प्वाइण्ट रगतपछि पनि गितालाई अझै थप रगतको खाँचो छ । जिल्ला अस्पताल बाजुराका अनुसार उनको रक्तसमूह ‘ए पोजेटिभ’ हो ।

अस्पताल आएका बिरामीलाई डाक्टर र नर्सहरूले उपचार मात्र होइन, रगत समेत दिएर बचाइरहेका घटना बाजुरामा प्रशस्त छन् । गत महिना सुत्केरी हुन नसकी सिकिस्त अवस्थामा पुगेकी बुढिनन्दा नगरपालिका–७, पाण्डुसेनकी २९ बर्षीया शारदा कडारालाई उनका आफन्तले जिल्ला अस्पताल बाजुरा पुर्याए । जीवनमरणको दोसाँधमा पुगेकी शारदाको बच्चा पेटमै मरिसकेको थियो । डाक्टरले अप्रेशन गरेर पेटको बच्चा निकाली आमालाई बचाए ।

पुनर्जीवन पाएकी आमालाई ताजा रगत चाहियो । रक्तदान गर्न तयार स्थानीय व्यक्ति कोही भेटिएनन् । अन्ततः जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा कार्यरत वरिष्ठ अनमि धनकला खड्काले रगत दिएर शारदालाई बचाइन् । त्यस्तै, गौमुल गाँउपालिका–६ बस्ने १८ बर्षीया निरा रोकाया केही दिनअघि बिरामी भएर जिल्ला स्वास्थ्य कार्यालय बाजुरा पुगिन् । उनको रगतमा हेमोग्लोबिनको मात्रा २ ग्राम प्रति डेसिलिटर मात्र थियो । यो उमेरमा कम्तीमा १२ ग्राम प्रति डेसिलिटर हुनुपर्ने हेमोग्लोबिन उनको रगतमा १० ग्रामले कम देखियो ।

रगतमा हेमोग्लोबिनको मात्रा त्यसरी कम हुँदा रगत नचढाए ज्यान समेत जान सक्थ्यो । निरालाई पनि तत्काल रगत दिएर हेमोग्लोबिनको मात्रा उकास्नुपर्ने भयो । उनका आफन्तहरू रक्तदाता खोज्दै जान सकिनेजति सबै ठाउँ पुगे तर रगत दिने कोही भेटिएनन् । अन्ततः जिल्ला स्वास्थ्य कार्यलयमै कार्यरत नायब सुब्बा नारायण श्रेष्ठ र कम्प्युटर अप्रेटर मानबहादुर हमालले रगत दिए ।

यी केही उदाहरण मात्र हुन् । बाजुरामा रगतको कमी भएर अस्पताल वा स्वास्थ्य कार्यालय आइपुगेका बिरामीलाई डाक्टर तथा स्वास्थ्यकर्मीहरूले आफ्नै रगत दिएर नबचाएको भए रगतको अभावमा उनीहरूको ज्यानै जान पनि सक्थ्यो । जीवनका लागि यति महत्वपूर्ण हुने रक्तसञ्चार सेवा बाजुरामा अहिलेसम्म सुरु भएको छैन जसका कारण रगत चाहिने सिकिस्त बिरामी र सुत्केरीहरूको जीवन स्वास्थ्यकर्मीले आफै रगत दिएर रक्षा गर्दै आएका छन् ।

रक्तसञ्चार केन्द्रको अभावमा जिल्ला स्वास्थ्य कार्यालयमा आकस्मिक प्रसूति र अप्रेशन सेवा सञ्चालनमा आएका कठिनाइलाई आफै अग्रसर भएर व्यवस्थापन गर्दै आएका उनीहरूलाई बिरामीको रक्तसमूह नमिल्दा भने कम्ती तनाब खेप्नुपर्दैन । रक्तदानका लागि योग्य स्थानीय वासिन्दाहरू रगत दिन प्रेरित भएमा बिरामीलाई बचाउन सजिलो हुने जिल्ला अस्पतालका प्रसूति विशेषज्ञ डा. टिकाराम राईले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रमेश कुँवरका अनुसार एक बर्षयता मात्र डाक्टर तथा स्वास्थ्यकर्मीहरूले २२ जना बिरामीलाई रगत दिएर बचाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र टाटे स्वास्थ्य चौकीमा रहेका आकस्मिक रक्तसञ्चार केन्द्रले रक्तदाताबाट रगत लिने र बिरामीलाई दिने सेवा चलाउँदै आएका छन् । गएको बर्ष मात्र रक्तसञ्चार केन्द्र स्थापनाका लागि जिल्ला समन्वय समिति बाजुराले जिल्ला रेडक्रस सोसाइटीलाई सांसद विकास कोष मार्फत् १५ लाख रुपैयाँ दिएको थियो । तर केन्द्र स्थापना हुन अझै बाँकी छ ।

साभार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *