कस्तो स्थानीय सरकार प्रमुख चुनिएछ नि, एसएसपीले थर्काउने !


सालोक्य ।
साउन १७, काठमाडौं । विद्यासुन्दर शाक्य व्यक्ति हैनन्, उनी निर्वाचित स्थानीय सरकार प्रमुख हुन् । ६४ हजार भोट ल्याएर जित्ने उम्मेदवार मात्र हैनन्, राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाका सबै बासिन्दाका मेयर हुन् उनी । नयाँ संविधानले उनलाई स्थानीय सरकार अर्थात् नगरकार्यपालिकाको प्रमुख मात्र हैन, नगरसभा अर्थात् स्थानीय संसदको प्रमुखको जिम्मेवारीसमेत तोकेको छ । काठमाडौँ महानगरलाई राम्रो र व्यवस्थित बनाउने उनको हो जिम्मेवारी । उनले हो बैठक डाक्नुपर्ने सबै सरोकारवाला निकायसित । तर हिजो अनौठो देखियो । एक एसएसपीले डाकेको बैठकमा पुगेर उनको थर्काइ खाएछन् । ‘तपाईँले नसक्ने भए म गर्छु’ भनेर एसएसपीले निर्वाचित मेयरलाई वचन लाएछन् ।
हजुर, हिजो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले डाकेको बैठकमा मेयर शाक्य गएका थिए । एसएसपी खनाललाई प्रहरी हेडक्वार्टरले डिआइजीका लागि एक नम्बरमा सिफारिश गरिसकेको छ । तर त्यो सिफारिश अनुसार उनले पदबहाली गरिसकेका छैनन् । त्यही भएर अहिलेलाई उनी एसएसपी नै हुन् ।


उनैले मेयर विद्यासुन्दर शाक्यलाई बिहान ९ बजे बोलाएका थिए । तर उनी नआएपछि कार्यक्रम स्थलबाटै एसएसपी खनालले पौने १० बजे शाक्यलाई फोन गरेर साइरन बजाएर भए पनि तुरुन्त आउन ‘निर्देशन’ दिएका थिए ।
केही समयपछि मेयर आइपुगे । एसएसपी खनालले उनलाई तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्नको लागि भने । त्यतिमात्र हो र, ‘सडक बत्ती बाल्न तपाईँ सक्नुहुन्न भने मसँग मान्छे छन्, म काम अगाडि बढाउँछु’ सम्म भने ।
उल्टो भइरहेको थियो । खासमा मेयर शाक्यले आफ्नो कार्यकक्षमा डाक्नुपर्ने थियो ट्राफिक प्रहरीलाई । अनि भन्नुपर्ने थियो ‘के ताल हो यो ? सँधै किन ट्राफिक जाम ? काठमाडौँ कुन कुन चोकमा किन जाम हुन्छ ? के कारणले जाम हुन्छ ? तुरुन्त कार्ययोजना बनाउनुस् जाम हटाउने । मैले जामरहित सहरको नारा दिएको छु चुनावी एजेन्डामा । १०० दिनभित्र यो काम गर्नुपर्नेछ । महानगरले के के गर्नुर्पयो सहयोग, तपाईँ भन्नुस् हामी तयार छौँ ।
तर यहाँ त ट्राफिकका हाकिमले डाकेको बैठकमा मेयर सहभागी भएर स्पष्टिकरण दिइरहेका थिए । अहो नि ! कस्तो स्थानीय सरकार प्रमुख चुनिएछ नि ! सँधै बचाउ गर्दै हिँड्नु पर्ने । कहिले मोबाइल किन्ने डिसिजनको बचाउ गर्दै हिँड्नु पर्ने । कहिले ट्राफिकको हाकिम अगाडि महानगरको बचाउ गर्दै हिँड्नु पर्ने ।


कसैकसैले महानगरका मेयरको मर्यादाक्रम त प्रहरीको एसपीभन्दा मुनि छ नि भनेर भने । हो त त्यस्तै भनेर हेरेँ । गृह मन्त्रालयले सार्वजनिक गरेको मर्यादाक्रममा त्यस्तो रहेनछ । महानगरका मेयर एआइजीभन्दा मुनि रहेछन् वरियता क्रममा । खासमा त आइजीभन्दा माथि हुनुपर्ने हो महानगरका मेयर त ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *