देशान्तर साप्ताहिकलाई कारवाही गर्न निर्वाचन आयोगको पत्र, प्रेस युनियनको आपत्ति


“
काठमाडौं, साउन १७ – नेपाल प्रेस युनियनले देशान्तर साप्ताहिकलाई कारवाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र लेखी पठाएकोप्रति आपत्ति जनाएको छ ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति निकालेर पत्रकार आचारसंहिता अनुगमन गर्ने एक मात्र निकाय प्रेस काउन्सिलको क्षेत्राधिकार नबुझी आदेश दिने काम आयोगले गरेको भन्दै चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिन सकिने प्रावधान विपरित आयोगबाट आएको यो निर्णय र आदेश हुकुमी शासनको झल्को दिने खालको भएको उल्लेख गरिएको छ ।
आयोगका पदाधिकारी र उनीहरुको निर्णयमा प्रश्न उठाउन नसकिने र कसैले गरेमा राज्यका अन्य निकायलाई आदेश गरी कठघरामा उपस्थित गराउने शैलीको आदेशले स्वतन्त्र प्रेसप्रतिको आयोगका पदाधिकारीहरुको धारणालाई पनि उदाङ्गो पारेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन आयोगले काठमाडौंबाट प्रकाशित हुने देशान्तर साप्ताहिकका सम्पादकलाई आयोगसँग सम्बन्धित समाचार सामग्रीको विषयमा प्रमाणसहित आयोगमा ३ दिनभित्र उपस्थित गराई र आवश्यक कार्वाही गराउन प्रेस काउन्सिललाई लेखी पठाएको थियो ।
“
