विधेयकमाथि अाज संसदीय समितिमा छलफल

काठमाडौं, साउन १७ । स्थानीय तहको शासन सञ्चालनको व्यवस्था गर्न बनेको विधेयकका विषयमा आज संसदीय समितिमा छलफल हुँदैछ । संसदको विकास समितिले त्यसका प्रावधानका विषयमा छलफल गर्दैछ ।

विधेयकमाथि एक हजार ५६ संशोधन प्रस्ताव दर्ता भएका छन् । दफावार छलफलका लागि संसद्बाट विकास समितिमा आएको विधेयकमाथि परेका संशोधन प्रस्तावबारे टुंगो लगाउन उपसमिति गठन गरिएको छ । गाउँपालिका वा नगरपालिकाको संख्या र सिमाना प्रदेश सरकारले हेरफेर गर्न पाउनुपर्ने, वडाको सिमाना गाउँपालिका र नगरपालिकाले हेरफेर गर्न पाउनुपर्नेलगायतका संशोधन विधेयकमाथि परेका छन् ।

संशोधनका सबै प्रस्तावमाथि पाँच दिन भित्र सहमति जुटाउन समितिले उपसमितिलाई निर्देशन दिएको छ । त्यसै अनुसार उपसमितिले आज छलफल गर्नेछ । हिजो बसेको विकास समिति बैठकले सांसद रामचन्द्र पोखरेलको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा कांग्रेसबाट संयोजक पोखरेल, आङटावा शेर्पा, एमालेबाट गणेश पहाडी र वैजनाथ चौधरी, माओवादी केन्द्रबाट तुलसा राना, संघीय समाजवादी फोरमबाट डा. शिवजी यादव र लोकतान्त्रिक फोरमबाट कल्पना चौधरी सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *