मोनोरेल सन्चालनका लागि पहल

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १६ । प्रधानमन्त्री शेरबहादुर देउवासँग ललितपुर महानगरपालिकाका पदाधिकारीले काठमाडौं उपत्यकामा मोनोरेल सन्चालन गर्ने महत्वाकांक्षी योजनाका सम्बन्धमा छलफल गरेका छन् ।
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गीता सत्याल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहितको टोलीले उपत्यकामा आधुनिक र सहज यातायात पूर्वाधार निर्माण सम्बन्धमा प्रधानमन्त्री देउवासँग छलफल गरेको हो ।
प्रधानमन्त्री कार्यालयमा सोमबार भएको भेटमा प्रधानमन्त्री देउवाले उपत्यकामा चरणबद्धरुपमा भौतिक पूर्वाधार सुधारका कार्य हुँदै जाने र सरकारका तर्फबाट सक्दो सहयोग गरिने आश्वासन दिएको प्रमुख चिरिबाबुले जानकारी दिए ।
भेटमा समसामयिक स्थानीय राजनीतिकाबारेमासमेत कुराकानी भएको थियो ।
स्थानीय तहका नवनिर्वाचित पदाधिकारीले जनताले प्रत्यक्ष महसुस गर्ने गरी ठूला परियोजना सन्चालनका लागि केन्द्र सरकारको सहयोगका लागि आग्रह गरेका थिए ।
उपत्यकामा मोनोरेल सन्चालनका लागि करिब रु एक खर्ब १५ अर्ब रकम आवश्यक पर्ने बताइएको छ । उपत्यकामा मोनोरेल सन्चालन सम्बन्धमा ललितपुर महानगरले नेतृत्व गरिरहेको छ ।
भेटमा पदाधिकारीले प्रधानमन्त्री देउवासँग व्यवस्थापिका–संसदमा विचाराधीन स्थानीय शासन सन्चालनसम्बन्धी विधेयक चाँडो पारित भए काम गर्न सहज हुने बताएका थिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया