राजपासहितको चुनाव हुन्छ : अध्यक्ष दाहाल

गौशाला, १६ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर–२ मा राष्ट्रिय जनता पार्टीसहितको चुनाव हुने ठोकुवा गर्नुभएको छ । कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि धनुषाको जनकपुर जाने क्रममा महोत्तरीको बर्दिवासमा पत्रकारसँग कुराकानी गर्नुहुँदै अध्यक्ष प्रचण्डले प्रदेश नं–२ मा हुने तेस्रो चरणको चुनावमा राजपा सहभागी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले चुनावमा सहभागी हुन राजपाले अघि सारेका माग र शर्त पूरा हुने वातावरण बनिरहेको र चाँडै राजपाको माग सम्बोधन हुने संकेत देखिएकाले तेस्रो चरणको चुनावमा राजपा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधान संशोधन र सीमांकन तथा प्रदेश नं–२ मा स्थानीय तहको संख्यासमेत थप हुने आवश्यक सबै गृहकार्य पूरा भइसकेको अवस्थामा रहेको तर केही सहमति र सहकार्यको वातावरण अझै बन्न बाँकी रहेकाले चाँडै सबै वातावरण बनेर राजपासहितको चुनाव हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासमेत कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि जनकपुर जानुभएको हो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *