मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पार्टीको निर्णय अनुसार परिचालित हुन काँग्रेस नेता केसीको निर्देशन

चितवन, १६ साउन । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चितवनको भरतपुर महानगरपालिका वडा नं १९को चुनावी प्रक्रियामा पार्टीको निर्णयअनुसार अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवन शाखले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पार्टीको निर्णयअनुसार कार्यकर्तालाई परिचालित हुन भन्नुभएको हो ।

नेता केसीले लोकतान्त्रिक पार्टीमा केही मतभेदहरु हुने भए पनि पार्टीको संस्थागत निर्णय अनुसार सबै चल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । व्यक्तिगत भेटघाटको सिलसिलामा चितवन आउनुभएका उहाँले पत्रकार सामु भन्नुभयो, “भर्खरै सर्वाेच्च अदालतको निर्णय आएको छ, सो निर्णयलाई सबैले शिरोधार्य गरेर अघि बढ्नुपर्छ, नेपाली काँग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा छ ।”

नेता केसीले एमालेलाई सहजीकरण गर्न र माओवादीलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रियामा ल्याउन काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताउनुभयो । पार्टी भित्रको कमजोरीलाई विश्लेषण गरेर सुधार्नुपर्ने, स्थानीय निकायको निर्वाचनको परिणामलाई चिन्तन गरेर अगाडि बढ्न सक्नुपर्ने र अझै दुईवटा निर्वाचन बाँकी रहेकाले पार्टीको एकता मजबुत पार्नुपर्नेमा नेता केसीले जोड दिनुभयो । रासस

प्रतिकृयाहरु
Loading...