मौसमविदको अनुमानभन्दा उल्टो मनसुनी वर्षा

काठमाडौँ, साउन १६ । चार महिनाअघि भुटानको थिम्पुमा भेला भएका दक्षिण एसियाली मौसमविद्ले यो वर्ष नेपालका सुदूर र मध्य भेगका जिल्लामा औसतभन्दा कम वर्षा हुने अनुमान गरेका थिए । उनीहरूको अनुमान थियो, ‘पश्चिम र मध्यपश्चिममा भन्दा मध्य र पूर्वी भागमा बढी वर्षा हुनेछ ।’

मनसुनका दुई महिनामा देशभर परेको वर्षाको तथ्यांक केलाउने हो भनेचाहिँ उनीहरूको अनुमान ठीक उल्टो देखिन्छ । पूर्वी भागका जिल्लामा भन्दा पश्चिम र मध्य भागकै जिल्लामा बढी वर्षा भएको छ, कान्तिपुरमा खबर छ ।

आगामी अगस्ट महिनामा पनि सुदूर र मध्यकै जिल्लामा बढी वर्षा हुने विश्लेषण जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूको छ । मनसुनका जुन र जुलाई महिनामा सुदूरपश्चिमको डडेलधुरामा औसतभन्दा झन्डै दोब्बर वर्षा भएको छ । औसत ३२९.२ मिलिमिटर वर्षा हुनुपर्नेमा जुलाईको १ दिन बाँकी छँदै आइतबारसम्म ६३६.८ मिमि वर्षा भएको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् ।

दिपायलमा पनि त्यस्तै छ । औसत २३८.७ वर्षा हुनुपर्नेमा ३११.६ मिमि वर्षा भएको छ । धनगढीमा ५६५.९ वर्षा हुनुपर्नेमा ६३९.४ मिमि वर्षा भयो । सुर्खेतमा पनि औसतकै हाराहारी वर्षा भएको छ । औसत ४७१.९ वर्षा हुनुपर्नेमा ४३०.२ मिमि वर्षा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *