स्थानीय जनप्रतिनिधिहरुलाई राजीनामा दिन विप्लव माओवादीको चेतावनी

धनगढी, फागुन ३ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युष्टि पार्टीले स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा दिन चेतावनी दिएको छ । राजीनामा नदिए जनकारवाही गरिने धम्की पनि नेकपाले दिएको छ ।
पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आज विहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले वर्तमान सरकार र संसदीय व्यवस्थाले गर्दा मुलुक जर्जर अवस्थामा पुगेकोले वैज्ञानिक समाजवाद निर्माणको लागि जनप्रतिनिधिहरुले सहयोग गर्नु पर्ने जिकिर गरे ।

त्यस्तै उनले राज्यलाई कुनै पनि कर नतिर्न समेत आहृवान गरे । वर्तमान सरकार तथा राज्य व्यवस्थालाई दलाल पुँजीवादी संसदीय व्यवस्थाको सज्ञा दिदै उनले भष्टचार, अनियमितता रोक्न र मुलुकको समृद्धि, स्वाशासन र विकासको लागि आ–आफ्नो तर्फबाट कर खारेज गर्नुपर्ने बताए ।
त्यस्तै, उनले नेपालमा सार्वधिक ग्राहक रहेको दुरसञ्चार कम्पनी एनसेल माथि अझै कारवाही गर्ने चेतावनी दिए । फागुन १ गते मुलुकको विभिन्न स्थानमा रहेका एनसेल टावरमा आफुहरुले आगजनि गरेको जिम्मा लिदै अझै करको दायरामा उक्त कम्पनी नआए कम्पनी नै ध्वस्त पारिदिने कडा चेतावनी दिए ।








