फलफूलका करिब दुई लाख बिरुवा बिक्री

खोटाङ, १५ साउन । जिल्ला कृषि विकास कार्यालयले यस आर्थिक वर्षमा विभिन्न प्रजातिका फलफूलका करिब दुई लाख बिरुवा बिक्री गरेको छ । जिल्लाका कृषकलाई व्यावसायिक र आधुनिकखेती प्रणालीमा अग्रसर गराउने उद्देश्यले एक लाख ९३ हजार ३४० बिरुवा ५० प्रतिशत अनुदानमा बिक्री गरिएको हो ।

कार्यालयका प्राविधिक सहायक कौशलकुमार यादवका अनुसार अलैँंचीका एक लाख ५५ हजार, सुन्तलाका १६ हजार ५००, कागतीका १६हजार ५००, लिचीका दुई हजार २५०, जुनारका एक हजार ५००, आँपका ८५०, अम्बाका ६०० र कटहरका १४० वटा बिरुवा बिक्री गरिएको थियो । अलैंँची, सुन्तला, कागती र जुनारमा ५० प्रतिशत अनुदान तथा आँप, लिची, अम्बा र कटहर परल मूल्यमा बिक्री गरिएको यादवको भनाइ छ ।

जिल्लामा अलैंँची, सुन्तला र कागती उत्पादनका लागि पकेटक्षेत्र मानेर कार्यक्रम सञ्चालन गरिएकाले सोही अनुसार बिरुवासमेत वितरण गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले जानकारी दिनुभयो । कार्यालयकाअनुसार जिल्लाका फेदी, पाथेका, खार्मी, खार्ताम्छा, बाक्सिला, सप्तेश्वर, सावाकटहरे, डम्र्बखुशिवालय, साउने चउर लगायतका ठाउँलाई अलैँंचीको पकेट क्षेत्र मानिएको छ ।

अधिकांश भू–भाग कछाड क्षेत्र रहेको जिल्लाका लामीडाँडा, खार्पा, राजापानी, विजयखर्क, टेम्मा, याम्खा, डाँडागाउँ, डम्र्वखुशिवालयलगायतका ठाउँलाई सुन्तला र कागतीको पकेटक्षेत्र मानिएको छ । उक्त पकेट क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गर्दैआएको छ । पचहत्तर हजार ५८५ हेक्टर खेतीयोग्य जमिनमध्ये जिल्लामा चार हजार ७१५ हेक्टर क्षेत्रफलमा फलफूलखेती गरिने कार्यालयले जनाएको छ । जिल्लामा उत्पादित फलफूल छिमेकी जिल्ला उदयपुर हुँदै भारतसम्म पुग्ने गरेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *