मतदाता नामावली वडामा नै संकलनको व्यवस्था हुनुपर्ने माग

काठमाडौँ, १५ साउन । व्यवस्थापिका– संसद्को आजको बैठकको शून्य र विशेष समयमा सांसदले भुइँचालो पीडितलाई घर बनाउन दिइने सहयोग रकम वितरणमा विलम्ब गर्न नहुने माग गर्नुभएको छ । उहाँहरूले भूकम्प भएको २७ महिना बितिसक्दा पनि पीडित लाखौँ परिवारले गृहनिर्माणको रकम नपाएको, बाढीपहिराले देशका धेरै भेगका जनता आक्रान्त भएको, तराईका अधिकांश क्षेत्र सिँचाइको अभावमा बाँझै रहेको र चुरे क्षेत्रको संरक्षण हुन नसकेकाले सरकारले गम्भीर भएर समस्या समाधानको आवश्यक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले नदी नियन्त्रण गरेर बाढीपहिरोबाट ऊर्वरभूमिको रक्षा गर्नुपर्ने बताउँदै तराईलाई सुक्खा क्षेत्र घोषणा गर्न र बाली लगाउन नपाएका किसानलाई सहयोग गर्न आग्रह गर्नुभयो । केही सांसदले कर्णालीको खाद्यान्न संकटदेखि लिएर आगामी माघ ७ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता एवम् दायित्वबारे सरकारलाई झक्झक्याउनुभयो भने केहीले भोजपुरको अरुण गाउँपालिकामा भएको तीन बालबालिकाको हत्याको निष्पक्ष छानबिनको माग गर्नुभयो ।

अन्य सांसदले सिन्धुपाल्चोकको लार्चामा रहेको पुल भत्किँदा २५ हजार सिन्धुपाल्चोकवासीको आवागमनमा कठिनाइ भएको बतउँदै बन्द भएको तातोपानी नाका खोल्न सरकारबाट भएका प्रयासबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो । त्यस्तै, केहीले सांसदलगायत अन्य निर्वाचित उच्च पदाधिकारीको मर्यादाक्रम पुनरवलोकन हुनुपर्ने, सुकुम्वासी समस्या समाधान गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय गम्भीर हुनुपर्ने, ऊखु किसानका समस्या समाधान गर्नुपर्ने, बूढीगण्डकी जलविद्युत् आयोजनाले सबैलाई जग्गाको मुआब्जा समुचित रुपमा वितरण गर्नुपर्ने तथा मतदाता नामावली वडामा नै संकलनको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

सांसदले देशका धेरै पहाडी जिल्लाका किसान बाँदर आतंकबाट पीडित भएकाले उक्त समस्या समाधानका उपाय पहिल्याउन जरुरी भएको बताउनुभयो । केही सांसदले चिकित्साशास्त्र अध्ययन अध्यापनका विकृति विसंगति अन्त्य गर्न बारम्बार एउटा व्यक्ति आमरण अनशन बस्नुपर्ने बाध्यता कहिले टुं्गिन्छ भन्ने प्रश्न गर्नुभयो । विशेष समयमा बोल्नेमा कमलप्रसाद पंगेनी, रवीन्द्र अधिकारी, अग्निप्रसाद सापकोटा कुन्ती शाहीे, अभिषेकप्रताप शाह, महेन्द्र राय यादव अइन्द्रसुन्दर नेम्वाङ, अनुराधा थापा मगर, मिलनकुमारी राजवंशी, मीना पुन, मधु शाही, जनकराज जोशी, जयन्तीदेवी राई, लक्ष्मी राई, राजकुमार अग्रवाल, धनबहादुर घले, अमनलाल मोदीलगायत हुनुहुन्थ्यो ।

त्यसैगरी शून्य समयमा कृपासुर शेर्पा, कृष्णप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, गणेशमान गुरुङ, गुरुप्रसाद बुर्लाकोटी, जनार्दन ढकाल, जीवनबहादुर शाही, टीकाराम चेम्जोङ र तुलाराम विष्टले बोल्नुभएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *