भूपरिवेष्ठित देशको नाताले भारतसँग सहयोग चाहन्छौ

काठमाडौँ, १५ साउन । पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भूपरिवेष्ठित देशको नाताले नेपालले भारतसँग अन्तर्राष्ट्रिय पहुँच र बजारका लागि सधैँ सहयोगको अपेक्षा गर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सहयोग परिषद् भारतद्वारा शनिबार साँझ नयाँ दिल्लीमा आयोजित ‘परिवर्तित भूराजनीतिक सन्दर्भमा नेपाल–भारत सम्बन्ध’ विषयको गोष्ठीलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले एउटा भूपरिवेष्ठित देशका कारण नेपालका विशेषखालका र धेरै प्रकारका विकासका चुनौती रहेको बताउँदै भन्नुभयो, “हाम्रो अर्थतन्त्रको विकास र पूर्वाधारको निर्माणका साथै व्यापार प्रवद्र्धनमा अन्तर्राष्ट्रिय पहुँच र विस्तारका लागि एक भूपरिवेष्ठित देशका नाताले हामी छिमेकी भारतसँग स्वभाविक रुपमै सहयोगको अपेक्षा राख्दछौँ र उसले हाम्रा समस्यालाई स्वभाविक रुपमै मनन गरिदियोस् भन्ने चाहन्छौँ ।”

डा महतले भारतले आफ्नो विकास र समृद्धिमा एक छिमेकीको नाताले नेपालको विकास, समृद्धि तथा स्थायित्वलाई पनि नबिर्सिन आग्रह गर्नुभयो । खुला सिमाना रहेका दुई छिमेकी मुलुकको सम्बन्ध निकै पुरानो भएको मात्र नभई हाम्रो संस्कार, परम्परा र अरु पनि धेरै कुरामा समानता रहेको प्रसंग उल्लेख गर्दै उहाँले सार्क, बिम्सटेक लगायत अन्तर्राष्ट्रिय संस्थाबाट पनि हामीले साझा चासो र विषयमा अन्तर्राष्ट्रिय मञ्चमा एकै आवाजका साथ काम गर्दै आएको बताउनुभयो ।

भारतको स्वतन्त्रताका लागि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले पनि योगदान पु¥याउनु भएको तथा नेपालमा प्रजातन्त्रका लागि भएका कतिपय अभियानमा भारतको सहयोग रहेकाले पनि दुई देशको राजनीतिक सम्बन्ध र समानता रहेको उहाँले बताउनुभयो ।

विश्वको एक उदीयमान अर्थतन्त्र भारतले कसरी प्रजातन्त्र र विकास साथसाथै अघि बढ्छ भन्ने उदाहरण संसारमै प्रस्तुत गरेको बताउँदै पूर्वमन्त्री डा महतले नेपालले पनि पछिल्लो समयमा आवधिक निर्वाचन र समावेशी प्रजातन्त्रको उत्कृष्ट अभ्यास गरिरहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले हालै सम्पन्न गरेका निर्वाचनमा स्थानीय तहका करिब २५ हजार प्रतिनिधि छानिएका छन् र तीमध्ये ४० प्रतिशतभन्दा बढी त महिला छन् । त्यस्तै दलित, जनजाति एवं समाजमा सीमान्तकृत वर्गका नागरिक पनि यो निर्वाचनमा ठूलो संख्यामा निर्वाचित भएका छन् ।”

अब नेपालका सामु प्रदेश र केन्द्रीय तहको निर्वाचन सपन्न गर्ने दायित्व रहेको र नेपालको वर्तमान नेपाली काँग्रेस नेतृत्वको सरकार र सबै राजनीतिक दल यसका लागि जुटिसकेको जानकारी गराउँदै काँग्रेसका नेता डा महतले एक छिमेकीका नाताले नेपालको यो प्रजातान्त्रीकरण प्रक्रियामा भारतको सकारात्मक सहयोगको नेपालले अपेक्षा गर्नु स्वाभाविकै हो भन्नुभयो । सो कार्यक्रमको अध्यक्षता गर्नुभएका भारतीय कानुनमन्त्री रविशंकर प्रसादले नेपालको एक असल छिमेकीका रुपमा रहेको भारत सदैव समृद्ध र प्रजातान्त्रिक नेपालको पक्षमा रहेको बताउनुभएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *