फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न

भक्तपुर, १५ साउन । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) भक्तपुर शाखाले भक्तपुरका सञ्चारकर्मीका लागि आयोजना गरेको पाँचदिने व्यावसायिक फोटो पत्रकारिता तालीम सम्पन्न भएको छ । भक्तपुरका सञ्चारकर्मीलाई गुणस्तरीय फोटो खिच्न सक्ने बनाउने उद्देश्यले आयोजना गरिएको तालीमको शनिबार समापन कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले तालीमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

उहाँले सयौँ शब्दमा भन्न नसकिने कुरा एउटा फोटोले भन्न सक्ने भन्दै फोटो पत्रकारिताको महत्व विश्वव्यापीरुपमा बढ्दै गएकाले मध्यपुरथिमि नगरपालिकाले फोटो पत्रकारिताका लागि फोटोग्राफी स्कूल नै सञ्चालनका लागि पहल गर्ने बताउनुभयो । त्यस अवसरमा एनएफपिजेका केन्द्रीय अध्यक्ष धु्रव आलेले यस तालीममा सहभागी फोटो पत्रकारले उत्कृष्ट फोटो खिचेर काठमाडौँका महँगा क्यामरा बोक्ने फोटोग्राफरभन्दा कम छैनौँ भन्ने रुपमा पहिचान स्थापित गर्न सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले मानिसले सिकेर कहिल्यै पूर्ण नहुने चर्चा गर्दै तालीममा सिकेका कुरालाई व्यवहारमा उतार्न सके त्यही नै सफलता हुने बताउनुभयो । त्यस अवसरमा बंगलादेशबाट आएका क्याननका बजार व्यवस्थापक सुनिल त्रिभेदी, प्रशिक्षक मधुसूदन थापा, प्रशिक्षार्थीद्वय सुशीला सिग्देल, चन्द्र चक्रधरलगायतले थोरै समयको प्रशिक्षणमा पनि महत्वपूर्ण विषयको ज्ञान पाएकाले यसको कार्यान्वयन प्रभावकारी हुनेमा विश्वास दिलाउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *