कैलालीमा कर्मचारी समायोजन प्रक्रिया शुरु


“विष्णु जोशी
साउन १५, कैलाली । कैलालीका स्थानीय तहमा सरकारी निकाय र निजामती कर्मचारीहरूलाई समायोजन गर्ने प्रक्रिया शुरु भएको छ ।
स्थानीय तह र सरकारको विशेष कार्य सञ्चालनका लागि विभाग, महाशाखा र शाखा खडा गरी सोहि अनुरूप विभिन्न सरकारी कार्यालय र कर्मचारीलाई समायोजन गर्ने प्रक्रिया अघि बढिरहेको छ । कैलालीमा सरकारले स्थानीय तह प्रशासन संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी आदेश, २०७४ जारी गरेअनुसार उक्त प्रकृया अघि बढेको हो ।
केन्द्रीय सरकारका विभिन्न मन्त्रालय मातहतका जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारीलाई विषयगत रूपमा स्थानीय तहमा खटाउने कार्यसँगै सरकारी कार्यालयहरू स्थानीय तहमा मर्ज (समायोजन) हुने जनाइएको छ ।
कैलालीमा घरेलु तथा साना उद्योग कार्यालय र महिला तथा बालबालिकाको कार्यालयबाट यो प्रक्रियाको सुरु भएको हो । घरेलु तथा साना उद्योगले धनगढी उपमहानगरपालिका र महिला तथा बालबालिका कार्यालयले १० वटा स्थानीय तहमा कर्मचारी समायोजन गर्ने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार महिला तथा बालबालिका कार्यालयका कर्मचारीहरूलाई तत्काल जिल्लाका १३ वटा स्थानीय तहमध्ये १० वटा स्थानीय तहमा मर्ज गर्ने निर्णय गरिएको छ ।
भवन अभावका कारण जिल्लाका मोहन्याल, चुरे र बर्दगोरिया गाउँपालिकामा हाल महिला तथा बालबालिका कार्यालयका कर्मचारीहरू पठाउन नसकिने उनले बताए ।
महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिकृत पूजा काफ्लेले विकट पहाडी गाउँपालिकामा कर्मचारी जान नमानेका कारण पनि केही समस्या भएकोले सो विषयमा छलफलबाट निचोड निकालिने बताइन् ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत दिलिप चन्दले परिवर्तित उद्योग विकास शाखाका कर्मचारी भने अन्यौलमा रहेको बताए । उनले कार्यालयले अब जिल्लाभरी काम गर्ने कि उपमहानगरपालिका भित्र मात्रै भन्ने विषयमा अन्योलता रहेको जिकिर गरे ।”
