वीपी प्रतिष्ठानमा छापा मार्दा वीरमा भूइचालो


खगेन्द्र अधिकारी, काठमाडौं
साउन, १५ । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी कागजपत्र नियन्त्रणमा लिएपछि मुलुककै पुरानो अस्पताल वीर अस्पतालका पदाधिकारीमा समेत भूइचालो गएको छ ।
प्रतिष्ठानको एमआरआई १.५ टेस्ला खरिद प्रकरणमा ६ करोड बढि घोटाला भएको आशंकामा गत बिहीबार अख्तियारको क्षेत्रिय कार्यालय इटहरीले छापा मारी अनुसन्धानका लागि महत्वपूर्ण कागजात नियन्त्रणमा लिएपछि वीर अस्पतालका पदाधिकारीमा त्रास फैलिएको हो ।
काठमाडौंको हस्पिटेक इन्टरप्राइजेजबाट मात्रै एक वर्षमा करिब डेढ अर्ब रुपैंया बढिको उपकरण खरिद गरेको वीर अस्पतालले खरिद गरेका अधिकांश उपकरणमा लागत भन्दा डेढदेखि दुई गुणा बढि रेट लगाईएको, वीरका पदाधिकारीलाई प्रभावमा पारेर शुरुमै आफु अनुकूलको लागत स्टिमेट बनाउन लगाएको भन्दै आयोगमा उजुरी समेत परेपछि अस्पतालका उपकूलपति, अस्पताल निर्देशक, रजिष्ट्रार र विभागीय प्रमुखहरुको सातो गएको छ । उनीहरु यतिबेला वीपी प्रतिष्ठानमा जस्तै वीरमा पनि अख्तियारको छापा पर्ने होकी भन्दै कागजपत्र मिलाउन ब्यस्त भएका छन् ।

उपकुलपति र विशाल पण्डितको गोप्य बैठक

विहिबार वीपी प्रतिष्ठानमा अख्तियारको टोलीले डिएसपीको नेतृत्वमा छापा मा¥यो । छापा मारेको ४८ घण्टा बित्न नपाउँदै वीर अस्पतालका उपकुलपति डा. गणेश गुरुङ र वीरमा अधिकांश उपकरण सप्लाई गर्ने हस्पिटेक इन्टरप्राइजेजका मालिक विशाल पण्डित बिच राजधानीको एक महंगो होटलमा गोप्य मिटिङ चल्यो ।
स्रोतले दिएको जानकारी अनुसार शनिबार बिहान भएको उक्त बैठकमा अस्पतालले गएको आर्थिक वर्ष खरिद गरेका उपकरणको लागत इष्टिमेट मिलाउने र अख्तियारमा परेको उजुरीका विषयमा कुरा भएको छ । गोप्य बैठकमा अस्पतालका उपकूलपति डा. गुरुङले २०७३ बैशाख देखि ०७४ जेठसम्म अस्पतालले हस्पिटेक र लाइफ लाइन (विशाल पण्डित) बाट खरिद गरेका करिब डेढ अर्ब रुपैयाँका ठेक्काको फाइलहरु जतिसक्दो मिलाउन र अख्तियारका पदाधिकारीलाई पनि मिलाउन आग्रह गरेका छन् । ‘वीपीमा जस्तै हाम्रोमा पनि रेड पर्नसक्छ तपाई अख्तियारलाई मिलाउनुस्, म फाइलहरु मिलाउँछु ।’ उक्त बैठकमा गुरुङले भनेको स्रोतको दावि छ ।
अस्पतालले पण्डीतको कम्पनीबाट अमेरिकन कम्पनी एक्यूरेले उत्पादन गरेको टेमो थेरापी मेसिन ३९ करोड ९० लाख ८० हजारमा(बास्तविक मुल्य करिब रु २६ करोड, सिटी सिमुलटोर (७९ करोड ९७ लाख (बास्तविक मुल्य करिब रु ६५ करोड) ग्यास्ष्ट्रो इन्ट्रोलोजी २ करोडमा खरिद गरेकोमा सबै उपकरणमा लागतको २.५ प्रतिशतसम्म महंगो दररेट कायम गरि सरकारी सम्पत्तिको चरम दोहन गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

उपकूलपति र अस्पताल निर्देशक नै कमाउ धन्धामा

वीरका उपकुलपति, अस्पतालनिर्देशक र विभागीय प्रमुखहरु नै ब्यापारीसँग मिलेर राज्यको दोहन गरी कमाउ धन्धामा लागेका छन् । हस्पिटेकले वीरका उपकुलपति डा. गुरुङ, अस्पताल निर्देशक डा. भुपेन्द्र बस्नेत र विभागीय प्रमुखलाई प्रभावमा पार्दै आफु अनुकूल हुनेगरी शुरुमै स्पेशिफिकेसन बनाएर टेण्डर पार्ने गरेको दावि गरिएको छ । उसले अख्तियारको केन्द्रिय कार्यालयका एक सचिव र सहसचिव तहका कर्मचारीलाई समेत प्रभावमा पारेर उनीहरुलाई निरन्तर आफ्ना विवादास्पद मुद्दाहरु मिलाउन दिने गरेका छन् । स्रोतका अनुसार यसरी मुद्दाहरु तामेलिमा राख्ने तथा ढिसमिस गर्दा हस्पिटेकले उनीहरुलाई मोटो रकम खुवाउने गरेको छ ।
पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरकारी कर्मचारीसँग मिलेर राज्यकोषको दुरुपयोग गरेको आरोपसहित उजुरी छ ।

स्वास्थ्यमन्त्री र पण्डीतको कनेक्सन

जबजब गिरिराजमणी पोखरेल स्वास्थ्यमन्त्री हुन्छन् तबतब विशाल पण्डीतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, वीपी प्रतिष्ठान, पाटन अस्पताल जस्ता ठूला स्वास्थ्य प्रतिष्ठानमा रजाई चल्छ । पोखरेललाई हातमा लिएर पण्डीतले स्वास्थ्य क्षेत्रका ६० प्रतिशत भन्दा बढि काम हत्याउने गरेका छन् । हस्पिटेकले अन्य कम्पनीको भन्दा महंगो दररेटमा टेण्डर हालेपनि पर्दछ । यसका लागि उनले मन्त्रालय, विभाग, अस्पताल र प्रतिष्ठानका पदाधिकारी, मुल्याङकन समितिका सदस्य, लेखा शाखाका कर्मचारीलाई समेत मोटो रकम खुवाउने गरेका छन् ।

डा. राजेन्द्र पन्तको सेटिङ

स्वास्थ्य मन्त्री पोखरेल भएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तको हात पनि लामो भएको छ । उनी पोखरेलका प्रिय पात्र हुन् ।
स्वास्थ्य सेवा विभागमा आफ्नै मातहतका कर्मचारीलाई सरुवा बढुवा गरिदिने भन्दै पैसा खान पल्केका तथा मन्त्रालयको औषधी खरिदमा ब्यापारीसँगको साँठगाँठमा अकूत सम्पत्ति कमाएको आरोप पन्तलाई लाग्ने गरेको छ । यीनले अख्तियारका एक सचिव, एक सहसचिव, मन्त्रालयका योजना शाखा र लेखाका शाखाका केहि कर्मचारीलाई आफ्नो मुठ्ठिमा पारेर ठेक्कापट्टामा चर्को चलखेल गर्ने गरेका छन् । पन्तलाई निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाकी श्रीमति डा. अन्जना थापाको समेत साथ छ । उनी अन्जनाकै सिफारिसमा विभागमा आएका हुन् ।

वीरको स्वास्थ्य सेवा झनझन खस्कँदो

वीर अस्पतालमा दैनिक पाँचहजार बढि विरामी आउने गर्दछन् । मुलुककै जेठो सरकारी अस्पताल भएकोले यहाँ निम्न आर्थिक अवस्था भएका विरामीको चाप बढ्दो छ । र, सरकारले पनि सेवा र गुणस्तर सुधार्न भनेर हरेक वर्ष वीरलाई दिने अनुदान बढाउँदै लगेको छ ।
गत वर्ष मात्रै वीरका लागि स्वास्थ्य मन्त्रालयले एक अर्ब बजेट दियो । तर, वीरका पदाधिकारीले त्यो बजेटलाई ब्यापारीसँगको सेटिङमा नियोजित रुपमै सकाए । विनियोजित एक अर्व बढि रकमले गत आ.ब.मा के–के काम गरियो अस्पताल प्रमुखलाई नै थाहा छैन ।
शुक्रबार वीरले १२८ औं स्थापना दिवस मनाईरहँदा स्वास्थ्यमन्त्री पोखरेलले वीरका पदाधिकारी नै परिवर्तन गर्नुपर्ने चेतावनी दिनुको कारण पनि कमजोर नेतृत्व नै हो ।

ऐन मिच्दै पदाधिकारी, सर्वोच्चमा मुद्दा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) प्रतिष्ठान ऐन बमोजिम सञ्चालन हुन नसक्दापनि समस्याको खाडलमा परेको हो । प्रतिष्ठान पदाधिकारी र प्रतिष्ठान यूनियनका केही व्यक्तिको स्वार्थका कारण न्याम्स अहिले लथालिङ अवस्थामा पुगेको छ ।
वीर अस्पतालभित्र कार्यरत कर्मचारीले नै प्रतिष्ठान ऐन विपरीत विभेद गरिएको भन्दै सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेपछि यसको यथार्थ बाहिर आएको हो । वीरका झण्डै तीन दर्जन कर्मचारीले असार ७ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । आफूहरुमाथि अन्याय भएको भन्दै सर्वोच्चमा रिट हाल्नेमा न्याम्सकी प्रा.डा. रमिला श्रेष्ठ, प्रा.डा. दीपेन्द्र श्रेष्ठ, प्रा.डा. सुधांशु केसी, स.प्रा.डा.हरु सुशील प्रजापती, मनिलरत्न बज्राचार्य, प्रदीप वैद्य, उपप्रा.डा. ध्रुव गैरे, डा. बिनिता जोशी, नर्सहरु रमिला, जोशी, सकिला श्रेष्ठ, कल्पना पन्तलगायत ३२ जना रहेका छन् । निवेदनमा उनीहरुले न्याम्स स्वायत्त हुनुपर्ने, शिक्षक तथा कर्मचारी नियमावलीअनुसार पदनाम, बढुवा र वृत्ति विकास हुनुपर्ने, पदाधिकारीहरुको लापरवाही लगायत माग राखेका छन् ।

कमिसन लिएर कर्मचारी भर्ना

उपकुलपति गुरुङको समूहमाथि टेन्डरमा मात्र होइन कर्मचारी भर्ना, सेवा आयोग परीक्षा, अस्पतालभित्रको पार्टेसन, पीसीएल, बीएन, एमडी एमएस प्रवेश परीक्षा, अस्पतालको औषधि, प्याथोलोजी, एक्सरे टेन्डरलगायतमा आफू निकटसँग कमिसन लिएर भर्ना र औषधि आयात गर्दै आएको आरोप छ । उनीहरुले अख्तियार र लोक सेवा आयोगको निर्देशन विपरीत वीर अस्पताल र ट्रमा सेन्टरमा कार्यालय सहयोगीदेखि शाखा अधिकृतसम्म कर्मचारी भर्ना गरी लाखौं रुपैयाँ उठाएको पनि स्रोतको दाबी छ ।
सेवा आयोगमार्फत् कर्मचारी भर्ना गर्दा कमिसन लिएका परीक्षार्थीलाई मात्र पास गराउन गुरुङ, अर्याल, नवराज धितात, हिमालय तिवारी र विष्णु फुँयालले रातारात उत्तरपुस्तिका नै परिवर्तन गरेको समेत वीर अस्पताल स्रोतको दाबी छ । उनीहरुले पीसीएल, बीएन, एमडी एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी राखेर आफू निकटकालाई पास गराएको यसअघि नै खुलिसकेको छ । जनु प्रकरण अहिले पनि अख्तियारमा विचाराधीन छ । असारमा भएको एमडी एमएस प्रवेश परीक्षा मेरिड लिस्टअनुसार पहिलो लिस्टमा दुई सय २० र दोस्रो लिस्टमा ९ सय ६१ जना परीक्षार्थीको नाम निकाल्दा गुरुङको समूहले वर्णानुक्रम अनुसार करोडौं रुपैयाँ उठाएको प्रतिष्ठान स्रोत बताउँछ ।
वीरका उपकुलपति डा. गुरुङ, डिन योहनचन्द्र शिवाकोटी, सेवा आयोग सचिव लक्ष्मण अर्याल, नवराज धिताल, हिमालय तिवारी र विष्णु फुँयाललगायतको समूहको भ्रष्टाचारले सिमा नाघेको छ । धितालले त यतिसम्म गरेका छन् कि प्रतिष्ठान कर्मचारी युनियनको नेता भएर कर्मचारी नियमावली विपरीत इमरजेन्सी गेट नजिकै पसल राख्दा समेत अस्पताल र मन्त्रालय बेखबर छन् ।

अख्तियार के गर्दैछ ?

वीपी प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका क्षेत्रिय प्रमुख प्रेम प्रसाद भट्टराईले छापा मार्ने आँट गर्दा आयोगको केन्द्रिय कार्यालयले वीरमा भएका भ्रष्टाचारका विषयमा कुनै ठोस कदम चाल्न सकेको छैन । आयोगमा वीरमा भएका भ्रष्टाचारका विषयमा उजुरीका चाङ लागेपनि आयोगका केहि सचिव र सहसचिव तहका कर्मचारीनै ब्यापारी र अस्पतालका पदाधिकारीसँग सेटिङमा मिल्दा वीरमा भ्रष्टाचार मौलाएको हो । वीपी प्रतिष्ठानभित्रको छापाले मेडिकल क्षेत्र र सरकारी अस्पतालमा तरंग ल्याएको छ । अब अख्तियारको केन्द्रिय कार्यालयले क्षेत्रिय कार्यालयको जस्तो आँट देखाएर वीरमा भएका सम्पूर्ण खरिद प्रक्रियाका फायलहरु खोतल्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *