स्थानीय तह निर्वाचनलाई जीवन–मरणकारूपमा लिनुपर्छ : निधि

जनकपुरधाम, साउन १४ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले असोज २ गते हुने स्थानीय तहको निर्वाचनलाई नेपाली कांग्रेसले जीवन–मरणकारूपमा लिनुपर्ने बताएका छन् ।

फाइल फोटो
नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार समन्वय उपसमितिद्वारा शनिबार जनकपुरधाममा आयोजित २ नम्बर प्रदेशस्तरीय प्रचार–प्रसार विशेष भेलामा उनले २ नम्बर प्रदेशमा कांग्रेसले १०० सिट जित्ने लक्ष्य राख्नुपर्ने धारणा राखे ।

उनले संविधान संशोधनका लागि कांग्रेस र नेकपा माओवादी केन्द्र प्रतिबद्ध भएपनि केही दलको अविश्वसनीय अवस्थाका कारण निर्णायक क्षणमा प्रवेश गर्न चिन्तन–मनन भइरहेको जानकारी दिए ।

केन्द्रीय सदस्य एवं खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचन कांग्रेसको इज्जतसँग गाँसिएको धारणा राखे ।

केन्दीय सदस्य आनन्दप्रसाद ढुंगानाले मधेस भनेको कांग्रेस र कांग्रेस भनेको मधेस प्रमाणित गर्नुपर्ने खाँचो औंल्याए ।

प्रचार–प्रचार उपसमितिका संयोजक रमेश लेखकले २ नम्बर प्रदेश कांग्रेसका लागि आधारभूमि र भरोसाको केन्द्र भएको प्रसंग उल्लेख गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश यादवले कांग्रेसलाई पहिलो स्थान प्राप्त गर्ने पार्टी बनाउन सबै एक ढिक्का भइ अग्रसर हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *