डडेल्धुराका स्थानीय निउरो बेचेरै मनग्य आम्दानी गर्न सफल


“
डडेल्धुरा, साउन १४ । अहिले वर्षातको मौसममा प्रदेश नं ७ का पहाडी जिल्लावासी जंगलमा पाइने निउरो बेचेर राम्रो आम्दानी गर्दै छन्। वर्षातको समय खास गरी साउन भदौमा खोला किनारमा पाइने वनस्पती निउरोबाट प्रदेश नं ७ को पहाडी जिल्लाका ग्रामीण स्थानमा बसोवास गर्ने स्थानीयले दैनिक २ देखि ३ हजार बढी आम्दानी गर्ने गरेको बताएका छन् ।
स्वास्थ्यका लागि एकदम लाभदायक मानिने निउरो ओसिलो ठाउँमा पाइने उनिउ प्रजातिबाट टुसा पलाउँदा तरकारीको रुपमा उपभोग गरिने भएकाले स्थानीयले अहिले प्रत्येक दिन निउरो टिप्ने गरेका छन्। स्थानीय बजारमा नै निउरो प्रतिकिलोग्राम २० रुपैयाँका दरले बिक्री हुने गरेको छ। टुसा पलाएको चाररपाँच दिनभित्र निउरो नझिके ठूलो झ्याङ भएको उनिउ बन्छ ।
चाररपाँच दिनमै हर्लक्कै बड्ने भएका कारण स्थानीयले प्रत्येक दिन खोला किनारबाट निउरो टिपेर बिक्री गर्ने गरेका छन्। डडेल्धुराको पोखराका एक व्यापारी भक्त शाहुले प्रतिकिलोग्राम २० रुपैयाँका दरले निउरो किनेर २२ देखि २५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनले बताए। उनको पसलबाट तरकारीका थोक व्यापारीहरु आफैं आएर तराईका जिल्लाहरुमा निउरो लैजाने गरेका छन्।
कैलाली कञ्चनपुरसम्म पुग्दा प्रतिकिलोग्राम ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनी बताउँछन्। त्यस्तै, एकजना स्थानीयले करिब एक क्विन्टलभन्दा बढी निउरो ल्याउने गरेको डाटीको गैराका व्यापारी जनक बोहोरा बताउँछन्। ‘गैरामा गाँउबाट बोरीका बोरी निउरो बेच्न आउँछन् र खासगरी डोटीको हगुल्टे लेकबाट यता प्राय जसो निउरो बिक्रीको लागि आउने गरेको छ’ उनी भन्छन्। ‘दैनिक १० देखि १५ क्विन्टलसम्म खरिद गरी बिक्री गर्छु।’ उनी थप्छन् ।
आफूले बिक्री गरेको निउरो प्राय यात्रुहरुले किन्ने भएकाले यो तराईमा मात्र नभई काठमाडौंसम्म पुग्ने गरेको बोहोरा बताउँछन्। कैलाली, कञ्चनपुरमा प्राय पहाडबाटै बसाइँसराइ गरी बसोवास गर्ने नागरिक बढी भएकाले पनि पहाडका चिज वस्तुलाई बढी महत्वका साथ लिइन्छ। यस कारण पनि बर्सेनि निउरोेको माग तराईका जिल्लाहरुमा बढ्दै गएको पाइन्छ। प्रदेश नं ७ का मुख्य सडकसँग पहुँच भएका तथा मुख्य राजमार्गसँग जोडिएका स्थानीयहरुले वर्षातका समयमा निउरो बिक्रीबाटै घर खर्च चलाउने गरेको स्थानीयको भनाइ छ। वन जंगल एवं खोलाका किनारमा बसोवास गर्नेहरुलाई निउरोसँगै च्याउ पनि आम्दानीको राम्रो स्रोत बनेको छ।
अहिले भीमदत्त राजमार्गअन्तर्गत कैलालीको सहजपुरदेखि डडेल्धुरा सदरमुकाम लगायतका अन्य राजमार्ग, बजार क्षेत्रमा बिक्रीका लागि निउरो राखेको देख्न सकिन्छ।असारबाट खोलामा टुसा पलाउन थालेको निउरो भदौ अन्तिम एवं असोज पहिलो सातासम्म निकाल्न सकिन्छ । निउरो बेच्नै डाटीको गैरा बजार पुगेका एक स्थानीय बलबहादुर मगर भन्छन्, ‘वन जंगल, खोलाको किनार, अल्लो तथा जुका लाग्ने ठाँउमा निउरो हुने भएकाले जोखिम मोलेरै भए पनि निउरो निकाली बजारसम्म पु¥याउने गर्दछु।’ वर्षातको मौसममा दैनिकी नै निउरो टिप्ने काम भएको उनी बताउँछन्।
बीउ रोप्न नपर्ने तथा मिहिनेत नलाग्ने यो वनस्पती प्राय खोला किनारमा पाइने गर्दछ। सडक सञ्जालसँग जोडिएका कैलाली, डोटी, डडेल्धुरा, बैतडी तथा बझाङका बजार तथा ग्रामीण क्षेत्रबाट निउरो प्रदेश नं ७ का तराईका जिल्ला कैलाली कञ्चनपुरलगायत भारतसम्म पुग्ने गरेको व्यपारीहरु बताउँछन्।
“
