विद्यालयबाट हराएका बालक अझै भेटिएनन्

काठमाडौं, साउन १४ । बिहीबार राजधानीको विद्यालयबाटै हराएका एक बालकको अझै पत्तो लाग्न सकेको छैन । क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ स्कूलबाट बिहीबार विद्यालय समयपछि निस्किएका पाँच वर्षीय विशाल चौधरी अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।

उनका बुबा विजय चौधरी छुट्टी भएको केही मिनेटमै छोरालाई लिन विद्यालय आए पनि छोरालाई भेटाएनन् । छुट्टी हुनेबित्तिकै विद्यालयबाट बालक खुशीसाथ एक युवकले चलाएको स्कुटरमा बसेर गएको बताइए पनि त्यसबारे खुल्न सकेको छैन ।

महानगरीय प्रहरीवृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरले घटनाबारे अनुसन्धान भइरहेको बताए । अहिलेसम्म कसैले फिरौतीका लागि फोन नगरेकाले बालक अपहरणमा परेको भन्न नसकिने भनाइ छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले बालकका बुबाको पसलमा काम गर्ने एक युवकलाई पक्राउ गरे पनि ती युवकको संलग्नता अझै खुल्न नसकेको राठौरले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *