मागेरै चल्दै निर्वाचन आयोग, कहाँबाट के मागियो ? (सूचीसहित)

काठमाडौँ, साउन १४ । पहिलो संविधानसभा निर्वाचनपछि निर्वाचन आयोग परनिर्भर बन्दै गएको छ । सामान्य सामग्री पनि आयोगले दाताको सहयोगमै जुटाइरहेको छ । आयोगबाट प्राप्त विवरणअनुसार ०७० को दोस्रो संविधानसभा निर्वाचन र ०७४ को स्थानीय तह निर्वाचनमा पनि दातृ निकायकै सहयोग धेरै देखिएको छ, नयाँ पत्रिकामा खबर छ ।

युएनडिपीसँग ल्यापटप, प्रिन्टरजस्ता सामान्य सामग्री माग गरिएको छ भने आइएफइएसजस्ता निकायले तालिम–गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गरेका छन् । युएसएड, आइएफइएसलगायतका दातृ निकाय र आइएनजिओले त प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनसम्बन्धी ऐनको मस्यौदामा समेत सहयोग गरेका छन् । उनीहरूकै सहयोगमा आयोगले मल्ल होटेलमा ऐनको मस्यौदामाथि दलका प्रतिनिधिसँग दुई दिन छलफल गरेको थियो । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले ऐनको मस्यौदा गर्दा विदेशीको स्वार्थ रहने स्वीकार गरे । निर्वाचन आयोगसँग जोडिएका विभिन्न ऐनको मस्यौदा तयार गर्ने क्रममा विगतमा पनि संयुक्त राष्ट्रसंघका विज्ञहरूले सहयोग गरेको उप्रेतीले बताए ।

कहाँबाट के मागियो ?

भारत 

स्थानीय निर्वाचन २०७४ मा भारतबाट १८ करोड ६१ लाख ९४ हजार आठ सय रुपैयाँबराबरको निर्वाचन सामग्री मागिएको छ । आयोगले मागेको विवरणअनुसारको सवारीसाधन भारतले उपलब्ध गराएको थियो ।
मोटरसाइकल : ३०
स्कुटर : ७
टाटा जेनन डबल क्याबिन पिकअप : ३५
महिन्द्र स्कार्पियो : ७
टाटा जेस्ट गाडी : ४
गाडी महिन्द्र एक्स युभी ५०० : १
टाटा विनगर माइक्रोबस : १
टाटा एलपियो मिनीबस : १

चीन 

चीन सरकारसँग १३ करोड १८ लाख २० हजार रुपैयाँबराबरको निर्वाचन सामग्री मागिएको थियो । मतदान केन्द्रमा आवश्यक पर्ने ती सामग्री चीनसँग आयोगले ०६४ र ०७० को संविधानसभा निर्वाचनमा पनि मागेको थियो ।
क्याल्कुलेटर : २७,५००
पन्चिङ मेसिन : २७,५००
कैँची : २७,५००
रबर म्याट : २१,५००
जेलपेन : ५५,०००
स्केल : ५५,०००
ग्लुस्टिक : २७,५००
स्ट्याम्प प्याड : १,६५,०००
स्ट्याम प्याड मसीः ८२,५००
घडी : २७,५००

युएनडिपी 

युएनडिपीले निर्वाचन आयोगलाई सहयोग गर्ने भन्दै निर्वाचन सहयोग परियोजना (इएसपी) नै सञ्चालन गरेको छ । त्यही परियोजनाअनुसार ०७४ को स्थानीय तह निर्वाचनमा आठ करोड ३१ लाख रुपैयाँबराबरका ल्यापटपदेखि कम्प्युटर प्रिन्टरसम्म मागिएको छ ।
ल्यापटप : ९००
टोनर कार्टिजः ९००
कम्प्युटर प्रिन्टर : ९००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *