अस्पताल निर्देशकले नै दुर्ब्यहार गरेपछि संजिव कर्णले समाजमा दिए निवेदन (निवेदन सहित)

“
असोज १५, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशकले दुर्ब्यहार गरेपछि प्रतिष्ठानका कम्प्युटर अधिकृत संजिव कर्णले कर्मचारी कल्याण समाजका निवेदन दिएका छन् ।
हिजो बेलुका कार्यालय समय पश्चात आफ्नै कार्यकक्षमा बोलाएर प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरिशंकर साहले कम्प्युटर अधिकृत कर्ण माथि आमचकारी गाली गलौज गरेका थिए ।
प्रतिष्ठानमा भइरहेको भ्रष्टाचारका विषयमा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा छानविन समिति गठन गरेका थिए । उक्त समितिका सदस्य प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई कम्प्युटर अधिकृत कर्णले सहयोग गरेको भन्दै अस्पताल निर्देशक साहले आफ्नै क्याविनमा बोलाएर आमचकारी गाली गरेको र त्यसबाट आफ्नो मानहानी भएको भन्दै पिडीत कर्णले समाजमा निवेदन दिएको बताए ।
‘मलाई विना कारण टर्चर गर्ने काम भयो । यत्रो वर्षदेखि संस्थामा काम गर्दा कुुनै दाग नलागेको मलाई आज विना आधार अस्पताल निर्देशकले हातपातै गर्न खोज्नुहुन्छ भनेर सोचेकै थिइन ।’ पिडीत कर्णले मकालु खबरसँग भने ।
कर्णले समाजलाई बुझाएको निवेदनमा आफुलाई अस्पताल निर्देशकले ‘रजिष्ट्रार कार्यालयमा किन गएको ?, रजिष्ट्रारले अर्हाएको काम गर्नुपर्दैन, शिक्षाध्यक्ष र रजिष्ट्रारले मेरो के छानविन गर्छ ? मलाई छानविन गर्न तिनिहरुको औकातै छैन, स्वास्थ्य मन्त्री को हो मेरो छानविन गर्ने ?’ भन्दै मनपरी बोलेको जनाएका छन् ।
उनले अस्पताल निर्देशकले बोलेका कतिपय शब्दहरु उल्लेख गर्न नसकिने रहेको जिकिर गरेका छन् । साथै गालीगलौज गर्दा प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार, सहायक अस्पताल निर्देशक डा. विकास साह तथा प्रतिष्ठानका सुचना अधिकारी सुजेन्द्र तामाङ समेत साथमा रहेको र ति मध्ये सुजेन्द्र तामाङले अस्पताल निर्देशकले हातपात गर्न खोज्दा रोकेको बताएका छन् । यदी सुजेन्द्र तामाङ नभएकाे अाफुमाथि जे सुकै हुन सक्ने अवस्था सृजना भएकाे कर्णकाे दावि छ ।
कर्णले गाली गलौजबाट आफुलाई मानसिक आघात पुगेको र कार्यालयमा गएर सहज वातावरणबाट काम गर्न सक्ने अवस्था नरहेको बताउँदै कर्मचारी कल्याण समाजको ध्यानाकर्षण गराएका छन् ।
समाजका सदस्य माथि प्रतिष्ठानकै जिम्मेवार पदाधिकारीबाट निकृष्ठ रुपमा गाली गलौज र हातपात नै गर्नसक्ने अवस्था सृजना भएको प्रति कर्मचारी कल्याण समाजले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । समाजले आजै विज्ञप्ति जारी गरी प्रतिष्ठानका पदाधिकारी मातहतका कर्मचारी माथि पदाधिकारीले नै आफ्नो पदीय मर्यादाको ख्यालै नगरी गाली गलौज गर्नु र हातपात गर्ने प्रयास गर्नु दुखःद र लज्जास्पद घटना भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
हिजो आइतबार बेलुकी कार्यालय समय पश्चात करिब ५ः१५ बजेतिर अस्पताल निर्देशकको कार्यकक्षमा बोलाएर अस्पताल निर्देशकले छानविन समितिलाई किन सहयोग गरिस भन्दै आमचकारी गाली गरेका थिए ।
“








