चीनको बाटो नेपालीले पनि अनुशरण गरौःमन्त्री गिरी

असोज १५, बुटवल । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले चीनको ६९औं राष्ट्रिय दिवसको अवसरमा छिमेकी मित्र राष्ट्र चीनको आर्थिक तथा औद्योगिक विकासको अनुशरण नेपालले गर्नुपर्ने बताएका छन् ।

चीनले स्वतन्त्र भएको छोटो अवधिमै आर्थिक र औद्योगिक विकासमा लोभलाग्दो फड्को मारेको उल्लेख गर्दै मन्त्री गिरीले उसको बाटो पछ्याउनुपर्ने बताए । नेपाल–चीन मैत्री समाज, लुम्बिनीले सोमबार भैरहवामा गरेको  अन्तरक्रियामा मन्त्री गिरीले चीनसँग नेपालको शदियौंदेखि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहँदै आएको स्मरण गरे ।

चीन नेपालको आर्थिक र औद्याेगिक विकासमा सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै मन्त्री गिरीले लगानी भित्र्याउन विश्वासिलो वातावरण निर्माण गर्नुपर्ने बताए ।

चीनको तीव्र आर्थिक विकासको पछाडि राजनीतिक नेतृत्व र चिनियाँ जनताको अनुशासन तथा मेहनत मुख्य कारण रहेकाले ती कुराबाट नेपाल र नेपालीले पाठ सिक्नुपर्ने गिरीको भनाइ छ ।

चीनले औद्योगिक प्रगतिसंगै वातावरण संरक्षणमा पनि उत्तिकै ध्यान दिएकाले नेपालले पनि वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले चीनसँग नेपालको वहुआयामिक सम्बन्ध रहेकाले बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन सरकार र नीजि क्षेत्रले पहल गर्नुपर्ने धारणा राखे ।
नेपाल–चीन मैत्री समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले चीनको आर्थिक, प्राविधिकलगायतको विकासबाट नेपालले लाभ लिनुपर्ने आवश्यकता औंल्याए ।

चीन स्वतन्त्र भएको सन् १९४९ अक्टुबर १ को सम्झनामा नेपाल–चीन मैत्री समाज लुम्बिनीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 20 =