कांग्रेसद्धारा प्रदेश १ का संरचना विभिन्न स्थानमा नराख्न दबाव

“
विराटनगर, असोज १५ । प्रदेश १ का संरचनाहरु धेरै स्थानमा राख्ने तयारी गरेको खबर सार्वजनिक भईरहँदा विपक्षी र सत्तारुढ दलका सांसदहरुले समेत त्यसको आलोचना गरेका छन् ।
प्रदेशसभाको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विपक्षी दल र सरोकारवालाहरुसँग कुनै परामर्श नगरी राजधानीको नाममा सरकारले गरेको तयारीबारे सदनलाई जानकारी दिनुपर्ने माग गरे ।
विराटनगरको नाममा राजधानीलाई विकेन्द्रीत गर्ने प्रयास प्रदेश र प्रदेशवासीको हित विपरित हुने भन्दै उनले १४ वटै जिल्लालाई समेटेरै बृहत विराटनगर बनाउन व्यङ्ग्य गरे ।
कांग्रेसकै सांसद सुयर्माराज राईले राजधानी र नामांकरण टुङ्ग्याउन ढिला भइरहेको भन्दै राजधानी छरपष्ट पार्ने प्रयास संघीयताको मर्म र भावना विपरित हुने दावी गरेका छन् ।
प्रदेश राजधानीकै बारेमा निर्णय गर्न नेकपाले संसदीय दलको बैठक बोलाएपछि यो विषयले चर्चा पाएको हो । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका कार्यपालिका, व्यवस्थापीका, प्रदेश प्रम्खको कार्यालय लगायत संरचनाहरु अलग–अलग स्थानमा राख्ने आन्तरिक प्रस्ताव गरेपछि नेकपाभित्र र बाहिर पनि त्यसले तरंग सिर्जना गरेको छ ।
नेकपाकै सांसद विजय विश्वास थारुले राजधानी छर्नेकुरा गलत हुने भन्दै व्यवस्थापिका र कार्यपालिका एकै स्थानमा हुनुपर्ने बताए । अहिले सबै हिसाबले विराटनगर नै राजधानी हुनुपर्ने उनको धारणा छ ।
“








