विपी कोइराला अस्पतालमा अख्तियारको छापा, अस्पतालका कागजात जफत

“
धरान , साउन १३ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो आर्थिक अनियमितता भएको आंशका गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
अख्तियारको इटहरी क्षेत्रीय कार्यालयबाट खटिएको डिएसपी रमेश बस्नेत नेतृत्वको टोलीले प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई मेसिनमा ठूलो आर्थिक हिनामिना गरेको उजुरीको आधारमा प्रतिष्ठानमा छापा मार्दै सोसम्बन्धि सम्पूर्ण कागजपत्र जफत गरेको हो ।
प्रतिष्ठानबाट एमआरआई खरिद प्रक्रियाका ठूलो आर्थिक चलखेल गरेको उजुरी परेकाले सो सम्बन्धि सम्पूर्ण कागजात नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय, इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगले प्रतिष्ठानले एमआरआई खरिदसँगै कार्डियोलोजी र अङकोलोजी टेण्डरका फाइलहरू समेत नियन्त्रणमा लिएको छ । गत साता आयोगको क्षेत्रीय कार्यालयमा प्रतिष्ठानमा पदाधिकारीले सेटिङ मार्फत १२ करोडको उपकरणलाई करिब १८ करोडमा खरिद गर्ने प्रक्रिया अघि बढाएको भन्दै उजुरी परेपछि सो सम्बन्धि अनुसन्धान गर्न अख्तियार सक्रिय भएको हो ।
आयोगले प्रतिष्ठानमा निर्माण गर्न लागेको क्यान्सर तथा मुटु उपचारसम्वन्धि भवनका लागि परार्मशदाता नियुक्ति गर्दा पनि ठूलो आर्थिक चलखेल गरेको आशंका गरेको छ ।
“








