खुर्सिदकाे परिवारलाई १० लाखको चेक प्रदान गर्दै गृहमन्त्रीले भने- अपराधी सात समुन्द्र पारि भए पनि ल्याएरै छाेड्छाैँ

“ असाेज १४ , सुनसरी । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतबाट छिरेका हतियारधारी समुहले गोली प्रहार गरी हत्या गरेको सुनसरीमा मैलाना खुर्सिद आलम अन्सारीका परिवारलाई १० लाखको चेक प्रदान गरेका छन्।
आइतबार गृहमन्त्री थापाले खुर्सिदको घरमै पुगेर उनकी श्रीमतीलाई खतिजा खातुनलाई उक्त चेक र सहिदको प्रमाणपत्र समेत प्रदान गरेका हुन्। खुर्सिदको यही असोज ३ गते सुनसरीको भूटाहामा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो।
उनले चेक हस्तान्तरण गर्दै अपराधी सात समुन्द्र पारि भए पनि ल्याएरै छाड्ने विश्वास दिलाएका थिए।
सरकारले असोज ५ गते खुर्सिदलाई सहिद घोषणा गरेको थियो भने त्यही दिन हत्याको अनुसन्धानका लागि प्रदेश १ प्रहरी मुख्यालयका एसएसपी किशोर दाहालको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । १५ दिन समयावधि रहेको उक्त छानविन समितिले अहिले घटनाको अनुसन्धान गरिरहेको छ।
घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरोको अर्को टोलीलाई समेत परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ।”








