सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलः एनअारटी र अार्मीले अंक बाँडे

“
असाेज १३, काठमाडौं । उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो खेलमा एनआरटीसँग बराबरीमा रोकिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको भएको उद्घाटन खेलमा एनआरटीले आर्मीलाई २–२ गोलको बराबरीमा रोकेको हो । एनआरटीका खेलको १२ औं मिनेटमा रोजित पुडासैनीले गोल गर्दै अग्रता दिलाए ।
खेलमा सुरुदेखिनै दवाव बनाएको आर्मीले ३८ औं मिनेटमा पेनाल्टी पाएपछि खेल १–१ गोलको बराबरीमा पुर्यायो । पेनाल्टीमा आर्मीका सन्तोष तामाङले गोल गरे ।
तर दोश्रो हाफमा पनि हाबी भएको आर्मी गोल गर्न भने बारम्बार चुक्दा खेलको ६४ औं मिनेटमा एनआरटीले फेरि अग्रता लियो । राजेश परियारले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्याए । तर गोलरक्षकले गल्ती गर्दा एनआरटी जितको मुखमा पुगेर निराश हुनु पर्यो ।
गोल रक्षकले ६ सेकेन्डभन्दा बढि बल होल्ड गरेपछि आर्मी फ्रिकिक पायो । जसमा सन्तोष तामाङले गोल गर्दै हारबाट जोगाए ।
एनआरटीका गोलरक्षक अजित प्रजापति खेलको म्यान अफ दि म्याच घोषित भए । लिग अन्तरगत दोश्रो खेलमा आइतबार सरस्वती युवा क्लब र संकटा क्लबबीच दिउसो ३ प्रतिस्पर्धा हुनेछ ।
“








