सडक दुर्घटनाको एउटा कारण छाडा चौपाया

“
असोज १३, धरान । राजमार्ग हाईवेमा छाडा चौपाया छोडनु पछिल्लो समय सडक दुर्घटनाको अर्काे एक महत्वपुर्ण कारण बन्दै गएको छ । शहर बजारका जुनसुकै सडकमा छाडा छोडिएका चौपायाहरु भैसी, राँगा, गाई, गोरु, लगायत सडकमा जथाभावी हिँड्न थालेपछि दुर्घटना निम्तिने कारण बन्न पुगेको छ । जसको पछिल्लो उदाहरण धरान १६ हेन्थाम चोक निवासी तिर्थराज लिम्बुको पाखुराको हडडी खुस्कीनु र नाडीको हड्डी भाँचिनु हो ।
ईटहरी–धरान सडक खण्डको तरहरा पानी पियाको जंगलमा बिहिबार बेलुका ६ बजे लिम्बुको रोयल ईनफिल्डसँग भैसी ठोक्किदा उनको दुईवटा हडडी नै भाँचियो । हाल लिम्बुको बिपी कोईराला स्वाथ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
उनी हाईवेमा मोटरसाईकलमा आईरहेका थिए, अचानक चारकोशे जंगलबाट भैसी निस्कीयो र मोटरसाईकल सँग जुध्यो । उनी भक्लक्कै त्यहीँ ढले । ‘भैसी यस्सरी जंगलबाट निस्कियो कि मैले मोटरसाइकल नियन्त्रण नै गर्न सकिन ।’ वीपी प्रतिष्ठानमा उपचाररत लिम्बुले भने ।
पछिल्ला दिनहरु धरान–इटहरी सडक खण्डमा छाडा चौपाया निकै देखिने गरेका छन् । चारकोशे जंगलमा स्थानीयले आफ्ना चौपाया चरनका लागि छाड्ने गरेका छन् । यो वाहेक यहाँका अधिकांश ठूला साना सडकमा छाडा रुपमा छोडिएका गाईवस्तुले सडक ढाकेका हुन्छन । ‘साँझाको समयमा त झन छाडा चौपायाका कारण सडकमा दिनहु दुर्घटना पनि बढिरहेको छ ।’ लिम्बुले भने ।
त्यसो त धरान–इटहरीको विचमा स्थित चारकोशे जंगलमा जंगली जनावरको वासस्थान पनि हो । चारकोशे जंगलको बाटो सडक रहेको छ । दिउसो जंगली जनावर सडक वरपर कम देखिने गरेका छन्, रातको समयमा भने तिनीहरुले सडक वारवार गर्दा दुर्घटना निम्तने संभावना बढ्दो छ । यस्तो अवस्थामा सवारी चालक आफैं सचेत भएर सवारी चलाउनुको विकल्प छैन ।
साँघुरा सडकमा हतारमा दगुर्ने सवारी साधनले छाडा चौपाया जोगाउन ‘झ्याप्प ब्रेक’ लगाउँछन् । अनी गाडी अनियन्त्रित हुँदै दुर्घटना हुने गरेको छ । कतिपय सवारी पल्टिँदा सवारी साधन भित्र रहेका यात्रुहरु पनि घाईते हुने गरेका छन् ।
शहरोन्मुख क्षेत्र र तराईका स्थानहरुमा गाईपालकहरुको संख्या धेरै हुने गरेको छ । उनीहरुले चरनका लागि स्थानीय सामुदायिक वन, खुल्ला चौर आदीलाई प्रयोग गर्ने गर्दछन् । घरमा गाई गोठ बनाएर त्यहिँ घाँस, परालको ब्यवस्था गरेर चौपाया पाल्दा सडकमा दुर्घटना कम हुने ट्राफिक प्रहरीको भनाइ छ । यहाँका स्थानीय निकायले छाडा छोडेका चौपाया ब्यवस्थापन गर्न कुनै कदम चाल्न सकेको छैन ।
आजकल गाईभैंसी पालकले दुध दिँदासम्म गाईवस्तु पाल्ने त्यसपछि सडकमा छाडिदिने गरेका कारणपनि सार्वजनिक सडकमा पशु चौपाया दिनानुदिन बढिरहेको हो ।
छाडा चौपायाकै कारण ६० प्रतिशत सडक दुर्घटना हुने गरेको तथ्याङ्क पनि प्रहरी समक्ष छ । बेवारिसे र अलपत्र अवस्थामा जनाबरहरु सडकमा देखिने गरेको प्रहरीको भनाइ छ ।
छाडा पशु चौपायाले सवारी चालकहरुलाई मात्र नभई पैदल हिँडडुल गर्नेलाई समेत समस्या पर्ने गरेको छ । ‘यो समस्या एउटा शहरमा मात्रै होइन सर्वत्र छ, स्थानीय निकायले पशुपालन गर्दा ब्यवस्थि तगर्न आवश्यक छ ।’ लिम्बूको भनाई छ ।
शहरबजारमा छाडा चौपायाका कारण स्थानीय, व्यापारी समेत हायलकायल छन् । धरान बजारमा छाडा छोडिएका गाई र साँढेले खाद्यान्न, तरकारी खाइदिँदा ब्यापारीलाई सास्ती भइदिएको छ । धरानका सब्जीमण्डीमा गाइवस्तु छाडा छोडिएका छन् । यस्ता चौपायालाई स्थानीय ब्यापारीहरुले नगरप्रहरीको सहयोगमा धपाउने, अन्यत्र व्यवस्थापन गर्ने कार्य गरेको भएपनि प्रभावकारी छैन । स्थानीय निकायले कान्जी हाउस सञ्चालन गरेर छाडा पशु नियन्त्रण गर्ने उपाय भएपनि धरान, इटहरीका स्थानीय निकायकाे ध्यान जान सकेकाे छैन ।
यतिमात्र कहाँ हो र, छाडा चौपायाको मारमा प्रहरी र ट्राफिक पनि पर्ने गरेका छन । ‘हाईवेदेखी स–साना बाटोमा चौपायाहरु बसिदिन्छन, सवारी जाम हुन्छ, कार्यालय समयमा ट्राफिक ब्यवस्थापनमा समस्या भइदिन्छ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरीको भनाइ छ ।
स्थानीय स्वायत्त ऐन २०५५ ले छाडा चौपाया नियन्त्रण गरी लिलाम बिक्री गर्ने व्यवस्था गरेको छ । तर यो नियम प्रभावकारी रुपमा स्थानीय निकायले पालना गरेको पाइदैन । चौपाया पालन गर्ने जनतालाई यो नियमका विषयमा सचेतना दिने हो भने, केहि हदसम्म छाडा चौपाया नियन्त्रण हुन्छन् र, यसरी दुर्घटना निम्तने संभावना कम हुन्छ ।
“








