विश्व मुटु दिवसमा दुहबीमा मिनि म्याराथुन, शेर बहादुर भए प्रथम

“
असोज १३, दुहबी । आज विश्व मुटु दिवस । विभिन्न चेतनामुलक कार्यक्रम गरी देशभर यो दिवस मनाइदैंछ । हरेक वर्ष मुटु दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेपनि मुटुरोगीको संख्या भने घट्न सकेको छैन । सुनसरीको दुहवीमा “स्वस्थ्य मुटुकालागि दौड’ भन्ने मूल नाराकासाथ दुहवी जेसिजले आयोजना गरेको मिनि म्याराथन खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
मिनि म्याराथन प्रतियोगितामा २०० जनाले भाग लिएका थिए । बिश्व मुटु दिवसको अवसर पारेर शनिवार विहान आयोजना गरीएको मिनि म्याराथन दौड प्रतियोगिताको प्रथम हुने शेरबहादुर राईलाई ११ हजार १ सय मेडल तथा गिफ्ट प्रदान गरिएको थियो । उनले ५ किलोमिटरको दौड २१ मिनेट १० सेकेण्डमा पार गरेका थिए ।
दोश्रो हुने शंकर चौधरीलाई ८ हजार १ सय मेडल तथा गिफ्ट प्रदान गरिएको थियो । उनले दौड २१ मिनेट ४२ सेकेण्डमा पार गरेका थिए । यसैगरि तृतिय हुने नविन राईलाई ५ हजार १ सय मेडल तथा गिफ्ट प्रदान गरिएको थियो । उनले दौड २२ मिनेट २० सेकेण्डमा पार गरेका थिए ।
यसैगरि महिला तर्फबाट प्रथम हुने सविता श्रेष्ठलाई २ हजार ५ सय मेडल तथा गिफ्ट प्रदान गरिएको थियो । उनले ५ किलोमिटरको दौड ३२ मिनेट १२ सेकेण्डमा पार गरेकी थिइन ।
दुहवी ५ स्थित श्री सरस्वती मा.विको खेल मैदानबाट शनिवार विहान सुरु भएको प्रतियोगिता ५ किलोमिटरको रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले पुरस्कार वितरण गर्दै खेलकुदलाई प्रोत्साहन गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मेयर गच्छदारले दुहवी नगर क्षेत्रमा ५००० बढी बृक्षारोपन गराई स्वस्थ्य दुहवीवासीको अवधारणा समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा लाइफगार्ड अस्पतालका वरिष्ठ चिकित्सक अरविन्द देवले स्वस्थ्य मुटु कसरी भन्ने विषयमा जानकारी गराए । डा. देवले पछिल्ला वर्षहरुमा अस्पतलहरुमा मुटुरोगीको चाप बढ्दै गएको बताए । ‘टन्सिलाइटिस, उच्च रक्तचाप,मधुमेहको समयमा उपचार नगर्दा र खराव जिवनशैलीले पनि मुटुरोगको जोखिम उच्च रहन्छ ।’ डा. देवले भने ।
मुटुरोगबारे जनचेतना जगाउन सरकारले गरीरहेको कार्यक्रमहरु प्रयाप्त नभएकोले स्थानिय तहमा रहेका स्वास्थ्य संस्थाबाटै मुटुरोग र यसको रोकथाम तथा उपचारको विषयमा जनचेतना फैलाउनु पर्ने दुहवीका बुद्धिजिवीहरु बताउँछन । दुहवीमा मुटुरोगको उपचार केन्द्र भएमा विरामीको उपचारमा सहज हुने उनीहरुको भनाई छ ।
नेपालको जनसंख्याको झण्डै ३० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग रहेको छ ।
“








