खतरामुक्त भइन् बसन्तीः डा. भन्छन् –‘धड्कन ठीकै छ, शरीर पहिलेको जस्तो हुँदैन‘

चितवन, असोज १२ । एसिड आक्रमणमा परेर घाइते भएकी कावासोती नगरपालिका वडा नं १० हरमासी टोलकी बसन्ती परियार खतराबाट मुक्त भएकी छन् । २७ वर्षीया घाइते वसन्तीको भरतपुर अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरुले बिहिबार साँझ घाइते बसन्तीलाई खतरामुक्त भएको जानकारी दिएका हुन् ।

‘४ दिनको उपचारको लामो प्रयासपछि घाइते बसन्ती खतरामुक्त भएकी छन्’ सुरूदेखि नै बसन्तीको उपचारमा संलग्न रहेका डा. सुरेश प्रधानले भने, ‘मान्छेको जीवन हो, शतप्रतिशत ग्यारेन्टी गर्न सकिने अवस्था त हुँदैन, तर घाइते बसन्तीमा धेरै नै सुधार देखिएको हुनाले अब खतरामुक्त भन्न सक्छौँ ।’

बसन्तीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको छ । डा. प्रधानका अनुसार बिहिबार साँझदेखि नाकको पाइप पनि निकालिएको छ । ‘फिजियोथेरापीको काम भइरहेको छ, बोलाउँदा थोरै भए पनि सजिलै बोल्न सक्ने अवस्थामा पुग्नुभएको छ’ डा. प्रधानले भने ।

पहिलेको भन्दा बसन्तीको स्वास्थ्यमा पछिल्लो समय क्रमशः सुधार हुँदै गएको अस्पतालले जनाएको छ । ‘प्रेसर ठीक ठाउँमा आएको छ, धड्कन पनि ठीकै छ, यस्तो अवस्थामा युरिनको जति आउटपुट हुनुपर्ने हो, त्यति नै छ’ डा प्रधानले भने, ‘अब शुक्रबारबाट तरलपदार्थ खुवाउन सुरू गर्ने योजना बनाएका छौँ ।’ उपचारमा संलग्न चिकित्सकहरुले छुरी लागेको घाउहरु पनि निको हुँदै गएको बताएका छन् ।

पहिले जस्तो हुँदैन शरीर

घाइते बसन्तीको स्वास्थ्यमा सुधार आएर घर फर्के पनि शरीर पहिलेको जस्तो नहुने उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । सञ्चो भए पनि एसिडका कारण उनको अनुहार कुरुप हुने चिकित्सकको भनाइ छ । ‘पूरा निको भएर तग्रन त धेरै समय लाग्छ’ डा प्रधानले भने, ‘शरीर पहिलेको जस्तो हुँदैन ।’

उनका अनुसार जुन भागमा एसिड छ, त्यो भाग कुरुप हुन्छ । एसिड परेको छाला काटेर फाल्नुपर्ने डा. प्रधानले बताए । चिकित्सकका अनुसार एसिड प्रहार भएपछि शारीरिक वा मानसिक रुपमा कमजोर भइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =