प्रदेश ७ को नाम र राजधानीका लागि आज मतदान

“
धनगढी, असोज १२ । विवादित बनेको प्रदेश नम्बर ७ को राजधानी र नामको आज टुंगो लाग्ने भएको छ ।
गत मंगलबार प्रदेशसभा बैठकमा पेश गरिएको प्रतिवेदनमा प्रदेश सातको राजधानी गोदावरी र नाम सूदूरपश्चिम राख्ने सुझाव आएलगत्तै धनगढीका स्थानियवासीले चर्को विरोध गरेपछि मतदान प्रक्रियाबाट यसको टुंगो लगाइने भएको हो ।
प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका, २ तेघरी राख्न सिफारिस गरेको छ । प्रदेशको नाम र राजधानी प्रतिवेदन सिफारिस गरेपछि प्रमुख विपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले असहमति जनाएपछि मतदानबाट यसको टुंगो लगाइने भएको हो । यसका लागि बिहान साढे ११ बजे प्रदेशसभा बैठक डाकिएको छ ।
तर प्रदेशको राजधानी धनगढीबाट नसार्न माग राख्दै बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रदेशसभाको मुलगेटमा जम्मा भएका धनगढीका स्थानीय बासिन्दाले नाराबाजी गरेर प्रदर्शन गरिरहेका छन् ।
“








