बिराटनगरमा पूँजीबजार सम्बन्धी प्रदर्शनी कहिलेदेखि ?

“
काठमाडौं, असोज १२। नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०१८ का उपलक्ष्यमा प्रदेश १ को बिराटनगरमा यही असोज १९ र २० गते प्रथम प्रादेशिक पूँजीबजार प्रदर्शनी सञ्चालन गर्न लागेको छ ।
उक्त प्रदर्शनीमा धितोपत्र बजार औजार तथा सेवा सम्बन्धी कम्तीमा १ सय स्टलमार्फत् धितोपत्र बजारका विविध पक्षहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने तथा सम्बन्धित जिज्ञासाहरुको समाधान गर्ने, धितोपत्र बजार, वास्तविक क्षेत्र, आर्थिक विकास तथा बृद्धि र धितोपत्र व्यवसायी सेवा, बोर्ड प्रकाशनहरुको निःशुल्क वितरण गर्ने र एक नेपाली एक डिम्याट खाता अभियानको शुभारम्भ लगायतका योजना रहेको बोर्डले जनाएको छ ।
अन्तर्राष्ट्रिय संस्था आईओएससीओको एसोसियट सदस्य नेपाल धितोपत्र बोर्ड संस्थाले आव्हान गरेको विश्व लगानीकर्ता सप्ताह संचालनमा बोर्ड सहभागी भई लगानीकर्ता सशक्तीकरण सम्बन्धी विभिन्न कार्यक्रम २०७५ असोज १५-२१ को अवधिमा पूँजी बजारसम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह मार्फत पूँजी बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ताको सशक्तीकरण गर्ने लक्ष्यका साथ कार्यक्रम भव्य रुपमा हुन लागेको हो ।
देश हालै संघीय स्वरुपमा रहेको तथा धितोपत्र बजारसमेत क्रमशः देशव्यापी हँदै गएको पृष्ठभूमिमा यस बजारको बारेमा जानकारी दिई सर्वसाधारणलाई बजार प्रवेशमा प्रोत्साहन गर्न बिराटनगरमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
“








