एसिड प्रहारका काण्डैकाण्ड : किन र कसरी बढ्यो ? कस्तो छ कारवाही ?

“
चितवन , असोज, ११ । २०७५ असोज आठ गते सोमबार साँझ कावासोती डण्डाकी वसन्ती परिवारलाई उनकै छिमेकी बिमल श्रीपालीले एसिड हाने । २७ वर्षकी वसन्ती यतिबेला भरतपुर अस्पतालमा मृत्युसँग लडिरहेकी छन् । बिमल कावासोती प्रहरी कार्यालयमा ज्याकिएको छ ।
२०७५ भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको असोज ७ गते मृत्यु लड्दालड्दै प्राणपखेरु उड्यो । एसिड लागेर घाइते भएकी उनकै बहिनी सम्झनाकी १४ वर्षीय बहिनी घाइते अवस्थामा अस्पतालको बेडमा छटपटाइरहेकी छन् ।
एसिड हानेको अभियोगमा प्रहरीले सम्झनाका छिमेकी ४५ वर्षीय रामबाबु पासवान (जसलाई सम्झानाले ठूलो बुबा भन्थिन्) लाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । यौन प्रस्ताव नमान्दा पासवानले एसिड हानेको मृतक सम्झनाले बाँच्नु अघि नै बयान दिएकी थिइन् ।
गत वैशाख ९ गते चितवन भरतपुर महानगरपालिका ४ मा डेरा गरी बस्ने गोर्खा घर भएकी कल्पना श्रेष्ठलाई ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले एसिड छ्यापेका थिए ।
२०७३ माघमा एसिड छ्यापिएकी नवलपरासीकी २७ वर्षीया तुलसा सापकोटाको उपचारको क्रममा ज्यान गएको थियो । उनलाई परिचित युवा सुनील कोइरालाले एसिड हानेका थिए ।
२०७१ साल फागुनमा काठमाडौँमा ट्युसन पढ्न गएका दुई किशोरी संगीता मगर र सीमा बस्नेतलाई एसिड छ्यापियो । एसिड छ्याप्ने जीवन विक यतिबेला प्रहरी खोरमा जीवन गुजारिरहेका छन् ।
यसरी लगातार एसिड आक्रमण भइरहँदा नेपाली समाज भयभित भइरहेको छ । जसले जतिबेला पनि एसिड हान्न सक्ने अवस्था समाजमा देखिएको छ । त्यसैले हत्या, हिंसा, लुटपाट र बलात्कारका घटनासँगै एसिड काण्डका घटना पनि नेपालीमा समाजमा मौलाइरहेको छ ।
‘एसिडका घटना बढिरहेका छन्, अपराधी मनोवृत्ति भएका मानिसहरुले एसिड हानेको पाइन्छ । त्यस्ता अपराधी मनोवृत्ति भएका मानिससँग जोगिन पर्ने अवस्था सिर्जना भएको छ’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए । उनका अनुसार प्रेममा असफल भएर, प्रेम प्रस्ताव राख्दा अस्वीकार भएर, प्रतिशोधको भावना लिएर एसिड आक्रमण भएका छन् ।
सुशिलसिंह राठौर, प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय चितवन
प्रहरी उपरीक्षक राठौरले भने, ‘युवकयुवती लभ गर्छन्, लभमा कुराकानी मिल्दैन, त्यसपछि युवकले उसको सुन्दरता कुरुप बनाइदिन एसिड हान्छ ।’ समाज लभ अफेयरले केही विकृत बन्दै गएको उहाँको भनाइ थियो । उहाँका अनुसार भारतीय फिल्महरुमा एसिड हानेका धेरै दृष्यहरु देख्न सकिन्छ, त्यसले पनि केही प्रभाव पारेको हुनसक्छ ।
‘कतै सुन्दर हुनु पनि अभिशाप भएको छ, त्यो सुन्दरता कुरुप बनाउनको लागि पनि एसिड प्रहार भइरहेको छ’ प्रहरी उपरीक्षक राठौरले भने । एसिड हान्ने घटना भारतमा बढी हुने र पछिल्लो समय नेपालमा पनि बढिरहेको उनको भनाइ थियो । किशोरी, युवतीमाथि नै धेरै एसिडका घटना बढेका छन् ।
बजारमा एसिड पाउन धेरै कठिन छैन, यसको नियमन गर्न जरुरी भएको प्रहरी उपरीक्षक राठौरले बताए । ‘एसिड लिन आउने मान्छेलाई विक्रेताले अब किन र केका लागि भनेर सोधपुछ गर्न जरुरी छ, किन्न आउने मान्छेको मो नं लिने अनि उसको परिवारसँग सोधपुछ गरेर मात्र दिने अवस्था सिर्जना हुनुपर्छ’ प्रहरी उपरीक्षक राठौरले भने
उनका अनुसार सहजै रुपमा उपलब्ध हुने एसिडले नै आज धेरै किशोरी र युवतीहरुको ज्यान लिइरहेको छ । एसिड आक्रमणको घटना बढेको हुनाले यसको विक्री वितरणमा कडाइ गर्न आवश्यक भएको उहाँको भनाइ छ । एसिड घरायसी काममा समेत प्रयोग हुने भएकाले बोकेर हिँड्दैमा शंका गर्ने अवस्था पनि हुँदैन ।
एसिड आक्रमणबाट शरीरको ३५ प्रतिशत भाग जलेको भए बाँच्ने सम्भावना कम हुन्छ । एसिड आक्रमणमा परेर मृत्यु भएकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको ३५ प्रतिशत भाग एसिडले जलेको
थियो ।
२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३ (२) मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा दिएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ ।
त्यस्तै शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ । जरिवानाको रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ ।
एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ । मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानुनी प्रक्रिया अघि बढाउन सकिन्छ ।
“








