माथिल्लो त्रिशुली-१ को काम पुसबाट शुरु हुने

“
काठमाडौं, असोज १० । माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजना कोरियन कम्पनीले पुसबाट बनाउन थाल्ने भएको छ । बुधबार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनलाई भेट्दै दक्षिण कोरियाका राजदूत योङग सिक पार्कले २१६ मेगावाटको आयोजना बारे जानकारी गराएका हुन्।
राजदूत पार्कले भने, ‘तपाईहरुको मार्गभित्र मैले पढेको छु, त्यो एकदमै राम्रो लाग्यो, तर हेजिङ फण्ड बन्यो भने त्यसले वैदेशिक लगानी भित्रयाउन सजिलो हुन्छ र तपाईहरुको सपना पूरा हुन्छ।’ नेपालले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वपूर्ण लक्ष्य राखेको भन्दै त्यसका लागि विदेशी लगानी भित्र्याउनु पर्ने बताए।
राजदूतसँगै सहभागी भएका उक्त कम्पनीका प्रतिनिधीले समेत परियोजना यथासम्भव र निश्चित समयभित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले परियोजनाले नेपालको विकासमा ठूलो योगदान पुग्ने भन्दै त्यसका लागि ४ सय ५० मिलियन डलर ऋण लिन कम्पनीले प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।
२१६ मेगावाटको माथिल्लो त्रिशुली –१ परियोजनामा कोरीयन साउथ इस्ट पावर कम्पनी लिमिटेडको ५२ प्रतिशत, डेलिम कन्स्ट्रक्शन कम्पनी लिमिटेडको १६ प्रतिशत, केरुङ कन्स्ट्रक्शन कम्पनीको १० प्रतिशत, इन्टरनेशन फाइनान्स कर्पको १२ प्रतिशत र नेपाली साझेदारको १० प्रतिशत शेयर संरचना रहेको छ।
भेटमा उर्जामन्त्री पुनले कोरियाली लगानीकर्तालाई थप लगानी गर्न समेत आह्वान गरेका छन् । चमेलिया जलविद्युत आयोजना निर्माणमा पुर्याएको योगदानप्रती धन्यवाद दिँदै हेजिङफण्ड बारे छलफल गरिसकेको र छिट्टै परिणाम सकरात्मक आउनेमा आशावादी रहेको बताए।
“








