प्रतिवेदन कार्यान्वयन भए हत्यारा उम्कन नसक्ने दावी

“
असोज ९, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन गर्न गठित समितिले गम्भीर त्रुटी औंल्याएको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई छानबिन प्रतिवेदन बुझाउँदै समितिले तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको ‘गम्भीर त्रुटी’ औंल्याएको हो ।
कारागार व्यवस्थापन विभागका प्रमुख (सह–सचिव) हरि प्रसाद मैनालीको नेतृत्वमा गठन भएको छानबिन समितिले तत्कालिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमार बहादुर खड्कासँगको बयानमा आफूले ‘गोली नचलाउनु’ भन्दै प्रहरी उपरीक्षक विष्टलाई लिखित आदेश नै दिएको बताएको छ ।
स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा मात्र गोली चलाउनुपर्ने भएपनि प्रहरी उपरीक्षक विष्टले ठाडो आदेशमा गोली चलेको बताएको छ ।
हत्यारा पत्ता लगाउन माग गर्दै भएको आन्दोलनका क्रममा भदौ ७ र त्यसपछि कञ्चनपुरमा पटक–पटक गोली चलेको थियो । प्रतिवेदन अनुसार छानबिनका क्रममा एसपी विष्टले तत्कालिन प्रमुख जिल्ला अधिकारीले दिएको लिखित आदेश अनुसार नै आफूले काम गरेपनि फिल्डमा काम गर्ने ‘फिल्ड अफिसर’ ले गोली चलाइसकेपछि मात्र रिपोर्ट गरेको बयान दिएका छन् ।
खड्काले कञ्चनपुरमा प्रहरीले गोली चलाएपछी पटक–पटक आफूले प्रहरी उपरीक्षक विष्टलाई फोन गर्दा उनले फोन समेत नउठाएको बयान प्रतिवेदन समक्ष बयान दिएका छन् । प्रमुख जिल्ला अधिकारीसँगको समन्वय बिना प्रहरी उपरीक्षक विष्टले किन गोली चलाउने आदेश दिए ? समितिले यसबारे प्रश्न उठाएको छ ।
निर्मलाको शव भेटिएको स्थललाई प्रहरीले जसरी सुरक्षित गरेर प्रमाण संकलन गनुपर्ने थियो त्यसमा लापरवाही गरेर गम्भीर त्रुटी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
समितिले निर्मलाको सुरुवाल धुनु, शरीरमा लागेको माटो पखाल्ने लगायतका कार्य प्रहरी अनुसन्धानको मर्म अनुसार नभएको भन्दै घटनास्थलबाट प्रमाण संकलनमा लापरवाही हुँदा घट्नाको अनुसन्धान थप जटिल बनेको उल्लेख गरेको छ । छानबिन समितिले प्रमुख जिल्ला अधिकारीको ड्राईभर, एसपी र डिएसपीको ड्राईभरलाई समेत बयान लिएको थियो ।
प्रतिवेदनले शंकास्पद केही व्यक्तिहरुमाथि अनुसन्धान गर्न भन्दै प्रतिवेदनमा उल्लेख भएअनुसार कार्यान्वयन भएमा हत्यारा उम्किनै नसक्ने भन्दै अपराधी पत्ता लगाउन थप अनुसन्धानको आवश्यक्ता समेत नरहेको बताएको छ ।
समितीले पन्तको हत्यापछि भएको आन्दोलन, अनुसन्धानको क्रममा भएको कमजोरी, केन्द्रीय अनुसन्धान ब्युरोबाट गएको प्रहरी टोलीले गरेको काम–कारवाही लगायत समग्र विषयमा छानबिन गरेको थियो । यता प्रहरी कर्मचारीको सम्बन्धमा आन्तरिक छानविन गर्न एआईजी धिरु बस्न्यातको नेतृत्वमा बनेको समितीले पनि काम गरिरहेको छ । प्रतिवेदनमा घटना कसरी भयो भन्ने बारे नखुलेको स्रोतको भनाइ छ ।
समितिलाई तोकिएको १५ दिनको म्यादसम्म जाँचबुझ नसकिएपछि भदौ २४ मा मन्त्री परिषद् बैठकले भदौ २५ देखि लागू हुने गरी १५ दिन म्याद थप गरेको थियो । गृहमन्त्री रामबहादुर थापाले प्रतिवेदन बुझ्दै प्रतिवेदनको आधारमा अनुसन्धानलाई अघि बढाइने बताएका छन्।
“








