‘जसले भाउजू भनेर बोलाउँथ्यो, उसैले एसिड हान्यो’

चितवन, असोज ९ । ‘भाउजू भाउजू भनेर बोलाउथ्यो, उसैले एसिड हान्यो, सोच्दै नसोचेको घटना भयो’ एसिड प्रहारबाट घाइते भएकी बसन्ती परियारकी दिदी मिठु परियारले भरतपुर अस्पतालमा गहभरि आँसु पार्दै बिलौना गर्दै थिइन् । उनी पत्रकारहरूलाई भन्दै थिइन्, ‘किन एसिड हान्यो, के कारणले प्रहार गर्यो हामीलाई केही पत्तो छैन ।’

उनले बाहिर यसो भनिरहँदा एसिड र छुरा प्रहारबाट घाइते भएकी बसन्ती परियारको भित्र भरतपुर अस्पतालको आईसीयू कक्षमा भेन्टिलेटरमा गम्भीर अवस्थामा उपचार भइरहेको थियो ।

कावासोती प्रहरीका अनुसार कावासोती नगरपालिका वडा नं १६ डण्डाको हरमासी टोलमा तरकारी किनेर फर्कदैँ गरेकी वसन्तीमाथि सोही ठाउँका बिमल शिर्पालीले एसिड प्रहार सँगसँगै छुरा प्रहार गरेका हुन् । उनी अहिले कावासोती प्रहरी कार्यालय नियन्त्रणमा रहेका छन् । परिवारले दोषी उपर किटानी जाहेरीसमेत दिएका छन् । बिमलले आफ्नो अपराध स्वीकार गरिसकेका प्रहरीको भनाइ छ ।

यसरी भयो एसिड आक्रमण

पीडक बिमलको घर र पीडित वसन्तीको घर एउटै टोलमा छ । पीडित परिवारका अनुसार बिमलले बसन्तीलाई भाउजू भनेर बोलाउने गर्थ्यो ।

‘हामी बजारबाट सपिङ गरेर घर फर्कदैँ थियौँ, म अघिअघि र बहिनी (पीडित वसन्ती) पछिपछि थिई’ दिदी मिठुले भनिन्, ‘बहिनीसँग भाञ्जी पनि थिई, एकैचोटी पछाडीबाट आएर कपाल समातेर बोतलबाट मुखभरि खनायो, बहिनी कराउन थाली ।’

उनी भन्छिन्, ‘एसिड भनेर पछि बल्ल थाहा भएको हो । एकछिन त उनीहरुबीच लुछालुछ भयो, पछि छुरी हान्यो, छुरी हानेपछि बहिनी ढली । छाती, पेट, कोखामा तीनचार ठाउँमा छुरी हानेको छ । भाञ्जी छुटाउन जाँदा उसलाई पनि एसिड लाग्यो । म दौडिदै जाँदा ऊ केराबारीतर्फ भागिसकेको थियो ।’ उनका अनुसार एक मिनेटभित्र उसले एसिड र छुरी हान्ने काम गरेको हो ।

‘बहिनीको घर अलिकति टाढा पर्छ मेरो घर र उसको घर वल्लोपल्लो हो’ दिदी मिठुले भनिन्, ‘किन एसिड हान्यो, कि बहिनीलाई थाहा छ, कि उसैलाई थाहा छ, हामीलाई केही थाहा छैन । उसले त बहिनीलाई र मलाई भाउजू भनेर बोलाउँथ्यो । दिदी मिठुका अनुसार उसको (पीडक बिमल) श्रीमती केही समयदेखि नै माइत बस्दै आएकी थिइन् ।

पीडित परिवारका अनुसार बिमलको साढे तीन वर्षकी छोरी छ । पीडित बसन्तीको ११ वर्षको छोरो छ । त्यसैले पनि उसले बसन्तीलाई भाउजू भनेर बोलाउथ्यो ।

पुरानो प्रेम सम्बन्ध बुझिन्छ: प्रहरी

कावासोती प्रहरीले दोषी बिमलको प्रारम्भिक बयान लिएको छ । कावासोती प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले प्रारम्भिक बयानमा पीडक बिमल र पीडित बसन्तीबीच पुरानो प्रेम सम्बन्ध बुझिएको बताए । उनले भने, ‘ऊ विदेशमा बस्दा पनि फेसबुकलगायतका सामाजिक सञ्जालमा कुराकानी हुने गरेको रहेछ ।’

प्रवक्ता लामिछानेका अनुसार एसिड प्रहार हुनु पुरानो प्रेमसम्बन्ध देखिएको छ । पूर्वयोजनाबद्ध रुपमा एसिड प्रहार भएको पनि देखिन्छ । प्रवक्ता लामिछानेले भने, ‘उसले एसिड हान्नलाई तीजमा भारत गएर एसिड किनेर ल्याएको रहेछ ।’

कावासोती प्रहरीका अनुसार बिमल केही महिनाअगाडि मात्र साउदीबाट फर्केका हुन् । उनको श्रीमती पहिल्यैदेखि घर नआई माइत बस्दै आएकी थिई । प्रहरीका अनसार ऊसँग श्रीमतीले डिभोर्स मागेकी थिई । प्रवक्ता लामिछानेले भने, ‘उसको बयानलाई मात्र हेर्दा, आफ्नो घरबार पनि बिग्रेको र पुरानो प्रेम पनि सार्थक नहुने भएपछि प्रतिशोध साँध्नलाई एसिड प्रहार भएको देखिन्छ ।’ घटनापछि विदेश गएका वसन्तीका श्रीमान् स्वदेश फर्केर श्रीमतीको उपचारमा लागेका छन् ।

घाइतेको अवस्था अझै गम्भीर

भरतपुर अस्पतालमा आईसीयूको भेन्टिलेटरमा राखेर घाइते वसन्तीको उपचार भइरहेको छ । भरतपुर अस्पतालमा सर्जन डा. सुरेश प्रधान, डा. प्रितम गुरूङ, डा. ज्ञानेन्द्र न्यौपानेको टोलीले ३ घण्टा लगाएर बसन्तीको अप्रेशन गरेको हो ।

उनको दाहिने र देब्रे गालाका दुवैतर्फ एसिड प्रयोग भएको छ । एसिडले दुबै आँखालाई क्षति पुर्याएको छ । दायाँ गालाको हड्डी फुटेको छ । ‘२४ घण्टापछि बल्ल अवस्था थाहा हुन्छ, अहिले यसै भन्न सकिन्नँ, केही सुधार पनि देखिएको छ, गम्भीर पनि छ’ उपचारमा संलग्न चिकित्सक डा. सुरेश प्रधानले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =