मन्दिरको शरणमा ‘बाल विधवा’

 कुश्मा, असोज ९ । राम्रोसँग बोली फुट्न नपाउँदै सिन्दूर पहिरिएर ‘बुहारी’ बनेका ‘बाल विधवा’हरु यतिबेला मुक्तिनारायण मन्दिरको शरणमा आश्रय लिँदै दिन कटाइरहेका छन् ।

पोखरा–बागलुङ राजमार्ग अन्तर्गत सहस्रधारा छेवैमा रहेको मुक्तिनारायण मन्दिर र सोही परिसरमा रहेको आश्रममा आफ्नो बाँकी जीवन बिताउने प्रणसहित उनीहरुले मन्दिरमा आश्रय लिएका हुन् ।

कुश्मा नगरपालिका पकुवा भिरमुनि माइती भएकी बाल विधवा पद्मा आचार्यको कर्म घर भने बाजुङ देवीस्थान हो । माइतीमा ठाकुरदेवी भुवाजी (कान्छी) भनेर बोलाइने उनि अहिले ७५ औं वसन्त पारी गरिसकेकी छिन । विसं २०१३ मा विवाह बन्धनमा बाधिएकी उनि त्यतिबेला जम्मा १० वर्षकी मात्र थिइन ।

श्रीमान् र श्रीमतीको सम्बन्धसमेत राम्रोसँग बुझ्न नपाएकी उनि विवाह भएको ३ वर्षमा आफ्नो पति नारायण भुवाजीलाई गुमाउनु प¥यो । त्यतिबेलाको नेपाली समाजको दृष्टिकोण र महिलाप्रति गरिने व्यवहार पचाउन उनका लागि फलामका चिउरा चपाउनु सरह थियो । त्यसमाथि श्रीमान् गुमाउनु भएकी उनलाई ‘श्रीमान् खाई, अलच्छिना रैछे’ भनेर आरोप लगाउनेहरु प्रशस्तै थिए गाउँमा । ती सबै दुःख, पीडा बिर्सेर परिवारले दिएको सानो टुक्रा जमीनमा उनले आफ्नो बाँकी जीवन सम्हाल्ने कोशिश गरिन । तर, उनकोे त्यो प्रयासले बाँकी जीवन गुजार्न मुश्किल थियो ।

विसं २०४३ मा आफ्नो भागमा परेको सानो टुक्रा जमीनलाई ४० हजार रुपैयाँमा बेचेर उनि मुक्तिनारायण मन्दिरको आश्रममा आएर बस्न थालिन जीवन जब बुझ्न थालिन् त्यतिबेलै उनको जीवन आधा मरिसकेको थियो । “त्यही आधा जीवन सार्थक बनाउन आश्रममा आएकी छु,” पद्मा आचार्य रुँदै बिलौना गर्छिन – “दश–एघार वर्षमा श्रीमान् के हो थाहा थिएन । जब बुझ्ने भएँ, मैले श्रीमान् गुमाइसकेकी थिएँ ।”

सो¥ह वर्षको उमेरदेखि ४० वर्षसम्म आफूले धेरै खप्की र हण्डर खानुपरेको उनि सम्झिन्छिन उनि भन्छिन “विगत सम्झँदा भक्कानो फुटेर आउँछ तर, के गर्ने ? अहिले त भगवान्को शरणमा खुशी छु ।”

त्यस्तै, मूलपानी बागलुङ माइत भई मालिका गाविस पञ्चासे, बागलुङ कर्म घर भएकी पवित्रा सापकोटाले पनि ११ वर्षमै आफ्नो श्रीमान् गुमाइन । विसं १९९१ मा जन्मिएकी उनलाई ७ वर्षको उमेरमै काखमा च्यापेर सिन्दूर हालिएको थिया्े । बिहे भएको २ वर्षमै श्रीमान् खगेन्द्र सापकोटा बिते पछि घरपरिवारबाट हेला भएको उनको गुनासो छ । । ‘श्रीमान् टोकी, पिराहा रैछे’ भनेर परिवारले दुःख हैरानी दिएका ती दिन उनि झल्झल्ती सम्झिन्छिन । देवरहरुले दिएको ७ हजार रुपैयाँमाथि आफूले दुःखजिलो गरेर थन्क्याएको ७÷८ रुपैयाँ हजार लिएर उनि मुक्तिनाथ मन्दिरको आश्रम आएकी थिइन ।

विसं २०४८÷४९ तिर आश्रम झरेकी उनि श्रीमान् गुमाए पछि परिवारले दिएको पीडा सबैभन्दा तीखो रुपमा मुटुमा बिझिरहेको बताउछिन । – “सुख कहिल्यै पनि बुझ्न पाइनँ । पति गुमाएँ, जीवन एक्लै धकेलिरहेकी छु । अब त मर्ने बेला पनि हुन लाग्यो । भगवान्को शरणमा छु ।”
उनिहरुलगायत मुक्तिनारयण मन्दिरमा अहिले चारजना बाल विधवा तथा महिला शरण लिइरहेका छन । । पुजारी, बाल विधवालगायत यहाँ अहिले आठ जनाको नित्य खानपानको व्यवस्था मन्दिरले नै गर्ने गरेको छ । मन्दिरका मूल पुजारी नारायण उपाध्याय भन्छन – “भगवान् सम्झेर आउने सबैलाई भगवान्ले नै खान, बस्न पु¥याउनु भएको छ । उहाँहरु आएर हामी झन् खुशी भएका छौं । मिलेर भगवान्को आराधना गर्छौं । मिलेर जीवन गुजारिरहेका छौं ।”

देशले सङ्घीयता र गणतन्त्रको अभ्यास गरिरहँदा ठाकुरदेवी र पद्मा जस्ता बाल विधवाहरु देशैभर अभावको जीवन जिउन बाध्य छन् । आज पनि उहाँहरु जस्ता अभागी महिलाको सहज जीवनयापनका लागि कसैले केही गरेको देख्न र सुन्न पाइएको छैन । जिउँदा इतिहास बनेका बाल विधवाहरु आफूलाई राज्यले उचित हेरविचार गरोस् भन्ने चाहन्छन् । अपेक्षा राख्दा राख्दै कपाल सेताम्मे भयो, जीउ कुप्रो प¥यो तर, उनिहरुको अपेक्षा मात्र अपेक्षामै सीमित रह्यो ।

“विधवा, जेष्ठ नागरिक भत्ता बाहेक सरकारले उनीहरुको हितमा छुट्टै केही गर्न सकेको छैन, यद्यपि जेष्ठ नागरिकहरुमा पनि बाल विधवाहरु साँच्चै पीडा सहेर बाँचेका सङ्घर्षशील महिलाहरु हुन्,” कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले भनिन – “नगरपालिकाभर कति बाल विधवाहरु छन् उनीहरुको खोजी गरी स्थानीय सरकारको तहबाट यथोचित व्यवस्थापनका लागि पहल गर्न लागिपर्नेछु ।” जीवन नबुझ्दै आफू भन्दा कैयन् धेरै उमेरका पाकासँग विवाह गर्नुपर्दा वास्तवमै उनिहरुले सुखको अनुभूति कहिल्यै गर्न पाएका थिएनन भएन । बाल विधवाहरु समाजको सम्मान गर्न लायकका पात्र भएको बताए । – उनिहरुले भोगेका दुःख, पीडा सुन्दा सबैका आँखा रसाउँछन् । तर के गर्ने ? हिजोको जमाना त्यही थियो । बाउआमाले सानैमा उमेर नमिलाइ गरिदिएको विवाहका कारण आज पनि उहाँहरु सङ्घर्षपूर्ण जीवन बाँच्न विवश हुनुपरेको छ ।”

कुश्मा बजारबाट ७ किलोमिटरको दूरीमा यो आश्रम रहेको छ । सहस्रधारा जरेवरबाट १०० मिटर उत्तरतर्फ पर्छ यो मन्दिर । आश्रममा भक्तजनहरुको आउने जाने क्रम चली नै रहन्छ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथधाम जाने आउने तीर्थालुहरुले यस मन्दिर आएर दर्शन गर्छन् । मुक्तिनाथ जानु पहिलो सहस्रधारामा नुहाएर गए मात्र फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । मुक्तिनारायण मन्दिर, आश्रम र सहस्रधारा एक किलोमिटरको आसपासमा रहेका छन् । यो आश्रम तथा मन्दिर मुक्तिनाथ जाने तीर्थालुहरुको पहिलो बासस्थानको रुपमा समेत चिनिन्छ ।

त्यति प्रचारमा नआएको यो मन्दिर पोखरा–बागलुङ राजमार्गको छेवैमा पर्दछ । पोखरादेखि ६४ किलोमिटरको दूरीमा यो आश्रम रहेको छ । यो मन्दिर तथा आश्रमको गुठीबाट आउने अन्नले नै यहाँ बास वस्ने भक्तजनहरुका लागि बिहान बेलुकाको भोजन जोहो गर्ने गरेको मन्दिरका पुजारी उपाध्याय बताउछन । सडक सञ्जालमा नजोडिएका बेला मुक्तिनाथधाम जाने र फर्कने तीर्थयात्रीहरुले खचाखच हुने यो आश्रम सडक सञ्जाल जोडिएसँगै आश्रम आउनेहरुको चाप घटेको उहाँको अनुभव छ उनि भन्छन – “गाडीमा सिधै मुक्तिनाथधाम जाने आउने भएका कारण यहाँ बास बस्ने तीर्थालुहरुको चाप घटेको हो ।”
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =