रङ्गशाला निर्माणको लागि स्थानीयद्धारा पचास रोपनी जग्गा प्रदान

हिलिहाङ, असोज ९ । पाँचथरको फिदिम नगरपालिका–५ मा रङ्गशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।

सरसिउला भन्ने ठाउँमा रङ्गशाला निर्माणका लागि रु ५० लाखभन्दा बढी मूल्य पर्ने जग्गा स्थानीयवासीले फिदिम नगरपालिकालाई निःशुल्क प्रदान गरेका हुन् । रङ्गशाला निर्माणको लागि सामान्यतः नौदेखि १९ हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।

रङ्गशाला निर्माणको लागि अहिलेसम्म स्थानीय रामचन्द्र नेपालले १९ रोपनी नौ आना, वीरेन्द्रकुमार लावतीले तीन रोपनी नौ आना, तुलाराम तामाङले तीन रोपनी आठ आना, सीतादेवी नेपालले दुई रोपनी आठ आना, रोहितप्रसाद लुईंटेलले दुई रोपनी र कमल नेपालले आठ आना जग्गा नगरपालिकाको नाममा पास गरेका छन । । बाँकी १९ रोपनी पनि एक हप्ताभित्रमा पास गराइदिने जग्गा उपलब्ध गराउने समितिका उपसंयोजक गगन लावतीले बताए ।

नयाँ नमूना शहरको रुपमा विकास भइरहेको फिदिममा व्यवस्थित रङ्गशालाको अभाव खड्किएकाले जग्गा दानको लागि स्थानीयवासी समिति नै बनाएर अघि बढेका हुन् ।

नगरपालिकाको नाममा सम्पूर्ण जग्गा पास भइकेपछि सम्बन्धित निकायबाट रङ्गशाला निर्माणको कार्यअघि बढ्नेमा स्थानीय विश्वस्त छन् । सम्पूर्ण जग्गा प्राप्त भइसकेपछि रङ्गशाला निर्माणको काम अघि बढ्न रङ्गशाला निर्माणको लागि प्रयास गर्दै आएको नयाँ शहर आयोजनाको कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले बताए ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =