गोकर्णको जंगलमा दक्षिण एशियाका कलासाधक

काठमाडौँ, १३ साउन । चराको चिरबिर तथा जंगलको शीतल छाहरीमा बजिरहेको सुमधुर परम्परागत गीत–संगीतमा मन्त्रमुग्ध भएर दक्षिण एशियाली मुलुकका कलासाधक चित्र बनाउन व्यस्त छन् । प्रकृतिको काखमा अनुपम सिर्जनामा व्यस्त दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य देशका २९ कलाकार राजधानीको होहल्लाभन्दा टाढा गोकर्णको जंगलमा अवस्थित रिसोर्टमा रंग र कुची चलाउन व्यस्त छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्क सांस्कृतिक केन्द्रको आयोजनामा आजदेखि शुरु भएको चारदिने आवासीय कला कार्यशालामा छ देशका २९ कलाकारको सहभागिता छ । कार्यशालामा नेपालका १०, भारत, श्रीलंका र बंगलादेशका पाँच÷पाँच, भुटानका तीन र माल्दिभ्सका एक कलाकार सहभागी छन् । कार्यशालामा सार्क सदस्य राष्ट्र पाकिस्तान र अफगानिस्तानको भने प्रतिनिधित्व छैन ।

शुक्रबार र शनिबार २९ कलाकारले गोकर्ण फरेस्ट रिसोर्टमा बसी चित्र बनाउने मन्त्रालयका उपसचिव रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । आइतबार सबै कलाकारलाई उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिकस्थल घुमाउने कार्यक्रम छ ।

सोमबार छ देशका कलाकारका बीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले अन्तक्र्रिया गरी कार्यशाला समापन गरिनेछ । कार्यक्रमको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले छ देशका कलाकार एकै ठाउँमा बसी सिर्जना गर्दा अनुभव, संस्कृति, ज्ञान, सीप आदानप्रदान हुने बताउनुभयो ।

उक्त मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले दक्षिण एशियाली क्षेत्रका कलाकारलाई एक अर्को देशको सभ्यता र संस्कृतिसँग पहिचान गराउने उद्देश्यले कार्यशाला गरिएको बताउनुभयो । सो अवसरमा मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी, सार्कका निर्देशक एमएसएन वण्डारा र सार्क सांस्कृतिक केन्द्रका निर्देशक वसन्थे कोटुवेलाले कार्यक्रमले दक्षिण एशियाली क्षेत्रको कलाकारिताको विकासमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *