कारागार चुहिन थालेपछि प्लाष्टिकको छाना बनाएर रात काट्दै कैदीबन्दी

डोटी, असोज ९ । जिल्ला कारागार डोटीका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउन बाध्य भएका छन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुवेदीले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताए । “भवन पुरानो छ बेलाबेलामा पानी पर्दा चुहिन्छ,” उनले भने “कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छाै बजेट आएपछि मर्मत हुन्छ ।”

सरकारले जीर्ण भएको डोटी कारागार टालटुल गरे पनि पानी चुहिने काम नरोकिँदा कैदीबन्दीलाई समस्या भएको हो । छानाबाट पानी चुहिने भएकाले प्लाष्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् । डोटी कारागारका छानामा राणाकालमा लगाइएका स्लेट पनि खिइएर झर्न थालेको कैदी बताउँछन् ।

उनीहरु भन्छन् “दिउँसो हामी बाहिर चौरमा हुन्छौँ, सामान्य हुरी चल्दासमेत सिलेट खस्ने र कस्को टाउकोमा लाग्छ र मर्छन् भन्ने चिन्ताले पिरोलेको छ ।” पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीले बताउँछन् ।

आर्थिक अभावले कारागारको जीर्ण भवन मर्मत सम्भारको कार्य हुन नसकेको कारागारका प्रमुख राजन केसीले बताए । भवन निकै पुरानो भएकाले छत चुहिन्छ, उनले भने फाेर्स पानी आएको बेलामा चुहिन्छ र छानाका सिलेट खस्ने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।” मागअनुसार कारागार विभागबाट बजेट नआउँदा डोटी कारागार हालसम्म मर्मत हुन नसकेको कर्मचारी बताउँछन् । डोटी कारागारमा पुरुष कैदीबन्दी ४३ र महिला कैदीबन्दी चार गरी हाल कूल ४७ जना रहेका छन् ।

पच्चीस मात्र कैदीबन्दीको क्षमता रहेको उक्त कारागारमा क्षमताभन्दा बढी कैदी राखिँदा झन समस्या भएको बताइएको छ । कैदीबन्दी बढी हुँदा खानेपानी र शौचालयमा जानका लागिसमेत पालो पखर्नुपर्ने अवस्था रहेको बताइएको छ । कैदीबन्दी भन्छन्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरुपमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनुपर्छ ।” कैदमुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने कैदीबन्दीको माग रहेको छ ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =