हिस्टोरिया के हो ? यसको लक्षण र उपचार

आजभन्दा दुई हजार वर्ष अगाडि हिप्पोक्रेटस भन्ने ग्रीक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अङ्ग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामकरण गरे । वर्ष सम्म यो समस्यालाई यसै प्रकारले हेरियो । तर अनुसन्धानले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको र यो समस्या तनावसँग सम्बन्धित भएको देखाए । हिस्टोरिया ग्रीक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो ।  तनाव नभई हिस्टेरिया हुँदैन, तनावको प्रकार चाहिँजस्तो पनि हुन सक्छ । जस्तैः पढाइ लेखाइको तनाव, पारिवारिक तनाव, नाता–सम्बन्धको तनाव, आर्थिक तथा समाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामना पूर्ति नहुँदा को तनाव, इज्जतप्रतिष्ठाको तनाव आदि । यौनसम्बन्धी समस्याले पनि तनाव उत्पन्न गर्न सक्छ । नेपालजस्तो समाजमा यौनसम्बन्धी समस्याको तनाव निकै हुने गर्छ ।

जब कुनै व्यक्तिलाई हिस्टेरियाका लक्षण देखिन्छ भने उक्त व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्व दिएको देखिन्छ । तर यो बुझाइ गलत हो ।  कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले गर्दा साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ । अहिले पनि नेपाली समाजमा अविवाहित महिलामा हिस्टेरियाको लक्षण देखिएको खण्डमा विवाहले हिस्टेरिया ठीक गर्छ भन्ने गलत धारणा कायमै छ । विवाहले कसैकसैलाई पहिलेको तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठीक पारेको हुन सक्छ तर कतिपयलाई हिस्टेरिया विवाहपश्चात् उत्पन्न  हुन सक्छ ।

हिस्टेरियाका लक्षण :
हिस्टेरियामा विभिन्न लक्षण देखा पर्न सक्छन् । जस्तैः बेहोस् हुने । अदृश्य शक्तिले छोप्ने । हात खुट्टा झम्झमाउने र लाटो हुने । घाटीमा डल्लो अड्केको महसुस हुने । वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने । छिटोछिटो सास चल्ने । हात र खुट्टा नचल्ने । आवाज बन्द हुने । आँखा नदेख्ने । रुने, चिच्याउने, काम्ने । उत्तेजित हुने । कुटपिट गर्ने, कपडा च्यात्ने । सम्झना शक्ति हराउने आदि । कतिपय बिरामीले आफूलाई देवी देउताको रूप र अवतारसम्म पनि भन्ने गरेको देखिएको छ । हिस्टेरियाका लक्षणलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । त्यसैले यसका लक्षण विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीबीच फरक हुन सक्छन् ।

महिलालाई किन बढी ?
महिलाले पुरुष जसरी आफ्ना कुरा व्यक्त गर्न नसक्ने हुनाले उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ । यही कारणले गर्दा महिलामा यो समस्या बढी हुन्छ । यो समस्या किशोरीमा किशोरमा भन्दा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तनसँगै परिवार र समाजबाट बढी नियन्त्रण हुनु हो । महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यताका कारण पनि महिला बढी अन्तरमुखी बन्न बाध्य हुन्छन् । पढ्ने, जीवन साथी रोज्ने र आफ्ना समस्यालाई नडराइ, नलजाइ भन्न सक्ने वातावरण भएका देशमा हिस्टेरियाको समस्या कम भएको देखिन्छ ।

हिस्टेरियाको उपचारः
हिस्टेरिया पूर्णतया मनको खेल हो, अर्का शब्दमा भन्ने हो भने यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । वास्तवमा यो रोग ‘म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो । यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसहरूले संवेदनशील भएर बुझ्न खोज्नु आवश्यक छ । ’

तनावको पहिचान र त्यसपछि उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो । अहिलेसम्म कुनै ट्यावलेट या इन्जेक्सन बनेको छैन, जसले हिस्टेरियालाई ठीक पारोस् तर औषधिको प्रयोगले हिस्टेरियाका केही लक्षणलाई क्षणिक रूपमा शान्त पार्छन् । तनावको निदान नभए हिस्टेरियाका लक्षण फेरि बल्झिने हुन्छ । निदानका लागि तनावको पहिचान आवश्यक छ । तर तनावको पहिचान गर्न त्यति सजिलो हुन सक्छ । यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिद्वारा पहिचान तथा निदान सम्भव छ । त्यसैले यसको उपचार मनोवैज्ञानिक पद्धतिद्वारा गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =