मुलकलाई अन्यायबाट मुक्त बनाउन काँग्रेस बलियो हुनुपर्छ– सभापति देउवा

“
काठमाडौँ, असोज ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई अन्याय अत्याचारबाट मुक्त बनाउन काँग्रेस बलियो हुनुपर्ने बताएका छन् ।
पार्टीको विधान संशोधन प्रारम्भिक मस्यौदा सुझाव संकलनका लागि सोमबार पार्टी कार्यालय सानेपामा आयोजित प्रदेशस्तरीय भेलामा उनले मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन काँग्रेस बलियो शक्तिको रुपमा स्थापित हुनुपर्ने बताएका हुन् ।
भेलामा उनले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
‘मुलुकका लागि अत्यन्तै राम्रो संविधान बनाउने नेतृत्व लिएको काँग्रेसले संविधानलाई आधार बनाएर पार्टीको विधान पनि राम्रो बनाउनुपर्छ । राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकुल अघि बढ्नुपर्छ ।’ उनले भने ।
विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन कांग्रेसले प्रदेश स्तरीय छलफल सुरु गरेको हो । प्रदेशबाट आउने छलफलपछि त्यसलाई अन्तिम रुप दिइने छ ।
“








