…यसरी भए डा. पौडेल भरतपुर अस्पतालको मेसु

“
चितवन, असाजे ७ । भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा प्राडा कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । भरतपुर अस्पतालमा यसअघि डा. रवीन खड्का निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहेका थिए । भरतपुर अस्पतालको लापरवाही कारण सर्पदंशको उपचारको अभावमा केही हप्ता पहिले भरतपुर–१५ मंगलपुरका तीन वर्षीय बालक सलिन बिकको मृत्यु भएको थियो ।
सोही सन्दर्भमा स्वास्थ्य मन्त्रालयद्वारा गठित छानविन समितिले भरतपुर अस्पतालको तत्कालीन मेसु डा. रवीन खड्कालाई व्यवस्थापकीय कमजोरी रहेको पाइएपछि हटाएर प्राडा पौडेललाई मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. कृष्णकुमार राईले बताए ।
जिल्ला प्रशासन कार्यालय चितवनले गठन गरेको छानबिन समितिले पनि सो घटनामा भरतपुर अस्पताल दोषी रहेको प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको थियो ।
मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त डा. पौडेलले भरतपुर अस्पताललाई नमूना अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भरतपुर अस्पतालमा गुणस्तरीय सेवा प्रवाहमा कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् । अस्पतालमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै सबैलाई अनुभूति हुने गरी व्यवस्थापकीय सुधारमा लागिपर्ने उनले बताए । आफू सोही जिम्मेवारी पूरा गर्न मेसुको जिम्मेवारी पाएकाले त्यसमा कटिबद्ध रहेको उल्लेख गरे ।
वरिष्ठ हाडजोर्नी तथा मे?दण्ड रोग विशेषज्ञ प्राडा पौडेल भरतपुर अस्पतालमा १०औँ तहमा कार्यरत थिए । उनी यसअघि रत्ननगर बकुलहर अस्पतालको मेसुको जिम्मेवारी सम्हालेका थिए । चितवनको रत्ननगर नगरपालिका–१ स्थित निपनीका स्थायी वासिन्दा पौडेल नेपाल चिकित्सक संघ चितवनका पूर्वअध्यक्ष एवम् संघको केन्द्रीय सदस्यसमेत हुन् । प्राडा पौडेलले नेपाल माध्यमिक विद्यालयबाट एसएलसी उतीर्ण गरेका हुन् । काठमाडौँस्थित त्रिचन्द्र कलेजबाट प्रवीणता प्रमाणपत्र तहको अध्ययनपश्चात् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमबीबीएस तहको अध्ययन पूरा गरेका थिए ।
उनी सामाजिक अभियन्ता पनि हुन् । मितेरी फाउण्डेशनलगायत विभिन्न संघसंस्थामा रहेर उनले सामाजिक सेवा गर्दै आएका छन् । डा पौडेल साहित्य र लेखनमा पनि चासो राख्छन् । समसामयिक र स्वास्थ्य सरोकारका विषयमा कलम चलाउँदै आएका पौडेल कवि पनि हुन् । उनले ‘खुसीहरुको वनवास’ कवितासंग्रह प्रकाशित गरेका छन् ।
“








