ईश्वर पोखरेललाई जिम्मेवारी सुम्पेर न्युयोर्क लागे प्रधानमन्त्री ओली

काठमाडौं, असोज ६ । प्रधानमन्त्री केपी शर्मा ओली १३ दिने विदेश यात्राका लागि शनिबार बेलुकी अमेरिकातर्फ प्रस्थान गरेका छन् ।

उनी राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका हुन् । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन २० सदस्यीय टोलीको नेतृत्व गर्दै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका साथै सरकारका वरिष्ठ अधिकारी छन्।

प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम प्रधानमन्त्रीको रहेको छ।

ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’का रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओली तथा श्रीमती राधिका शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती मेलानिया ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ। यस्तै प्रधानमन्त्री असोज ९ गते मंगलबार संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस्ले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने बताइएको छ।

सोही दिन न्युयोर्कमा एसिया सोसाइटीले आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा पनि ओलीले सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओलीले असोज १० गते स्वीट्जरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली असोज १३ गते औपचारिक भ्रमणका लागि न्यूयोर्कबाट कोस्टारिकाको सान होजेतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र सभामुख कृष्णबहादुर महराले बिदाई गरेका थिए।

प्रधानमन्त्री न्युयोर्क प्रस्थान गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nineteen =