शेयर बजारमा लगानी कसरी गर्ने ?

नेपालको अर्थतन्त्र मानिने शेयर बजार विशेष आकर्षणका रूपमा मानिन्छ । अल्पकालीन भन्दा पनि दीर्घकालीन रूपमा सेयरको लगानीले अवस्य पनि सफल भइन्छ । प्राथमिक बजारमा उपलब्ध सेयर अंकित मूल्य रू.१ सयमा पाउने तर दोस्रो बजारमा लगानी गर्दा पहिलो भन्दा दोस्रो बजारमा अत्यन्त जोखिम भएको विज्ञहरूको भनाई छ । शेयर बजारको आकर्षणका कारणले सेयरबाट करोडपति त हुन सकिएला तर ध्यान नपुर्याएमा रोडपति पनि भएका तथ्य हामीबाट लुुक्न सक्दैन । अतः सेयर बजारमा लगानीगर्दा के–के कुरामा ध्यान पुर्याउने भन्ने विषयमा हामी केन्द्रित रहेर केही टिप्स यहाँ प्रस्तुत गरेका छौं ।

लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरूः

१. सार्वजनिक निष्काशन भएको समयमा धितोपत्र खरीद गर्दाः

निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापनपक्ष, जोखिमपक्ष जस्ता महत्वपूर्ण कुराह?को विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

विवरणपत्र लगायत निष्काशनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणहरूका लागि निष्काशनकर्ता कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरूमा सम्पर्क राख्नुहोस् ।

धितोपत्र खरिदका लागि दरखास्त दिएपछि धितोपत्रको बाँडफाँट, फिर्ता भुक्तानी, प्रमाणपत्र प्राप्ति तथा सूचीकरण सम्बन्धमा सजग रहनुहोस् ।

धितोपत्रको निष्काशन मूल्यले सूचीकरण पश्चात् धितोपत्र विनिमय बजारमा कायम हुन जाने मूल्यलाई नजनाउने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिमप्रति सजग रहनुहोस् ।

२. धितोपत्र विनिमय बजारमा सूचीकरण भएका धितोपत्रहरू खरीद र बिक्रीगर्दाः

धितोपत्र बोर्डबाट प्रमाणपत्र प्राप्त गरेका र धितोपत्र विनिमय बजारको सदस्यता लिएका धितोपत्रदलाल मार्फत् मात्र धितोपत्र खरीदबिक्री गर्नुहोस् ।

कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, आर्थिक स्थिति, व्यवस्थापनपक्ष तथा लगानीकर्तालाई प्रदान गरिएको प्रतिफल जस्ता महत्वपूर्ण कुराहरू हेरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

पत्रपत्रिका तथा अन्य सञ्चार माध्यमबाट प्रवाहित गरिने धितोपत्रको दैनिक बजार मूल्य तथा कारोबारका सम्बन्धमा समेत जानकारी राख्ने गर्नुहोस् ।

कम्पनीसँग सम्बन्धित धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशिल सूचनाहरू धितोपत्र विनियमय बजारको सूचना पाटीमा तत्कालै राखिने व्यवस्था भएको हुँदा त्यस्ता सूचना सम्बन्धी जानकारीका लागि इजाजत प्राप्त धितोपत्र दलालसँग समेत सम्पर्क राख्नुहोस् ।

धितोपत्र खरीदबिक्री गर्नुअघि ग्राहक खाता राख्नका लागि दलाललाई आवश्यक विवरण उपलब्ध गराउन, आफुले दिएको खरीदबिक्री आदेशको प्रमाण लिन तथा खरीदबिक्री गरेको धितोपत्रको शेयरको हकमा कारोबार भएको दिनपछि ३ कार्य दिनभित्र र बण्ड वा डिवेञ्चरको हकमा कारोबार भएकै दिन कारोबार राफसाफ गरिसक्नुपर्ने व्यवस्था रहेअनुसार रकम र प्रमाणपत्र बुझ्न र बुझाउन सजग रहनुहोस् ।

खरीद गरिएको धितोपत्र आफ्नो नाममा नामसारी नगरी तुरून्त बिक्री गर्नका लागि धितोपत्र विनिमय बजारमा अभिलेख गराई खाली हस्तान्तरणमा राख्नु भएको छ भने त्यस्तो धितोपत्र कम्पनीको दर्ता किताब बन्द हुनु अघि वा आर्थिक वर्ष समाप्त हुनु अघि आफ्नो नाममा नामसारी गरी प्रमाण पत्र लिएर कम्पनीले घोषणा गर्न सक्ने लाभांश प्राप्त गर्ने अवसर नगुमानुहोस् ।

३. ध्यान दिनुपर्ने अन्य कुराहरूः

धितोपत्रमा गरिने लगानीको जोखिम तपाई स्वयंले ब्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

आफुले शेयर खरीद गरेको कम्पनीको गतिविधिहरू बारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नबिर्सनुहोस् ।

धितोपत्रमा लगानी गर्दा आफ्नो नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी गरिएको आधिकारीक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहनुहोस् ।

धितोपत्रमा लगानी सम्बन्धी तपाईँका जिज्ञासा, शंका वा गुनासाहरू भए धितोपत्र व्यवसायी, धितोपत्र विनिमय बजार तथा धितोपत्र बोर्डमा सम्पर्क राख्नुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 12 =