नोबेलमा बिकिरण सुरक्षा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला

“
विराटनगर, असोज ५ । अस्पतालका विकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीहरुको सुरक्षा सम्बन्धि १ नम्बर प्रदेश स्तरीय कार्यशाला बिहिबार विराटनगरमा सम्पन्न भएको छ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले कार्यशाला गरेको हो ।
नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यशाला उद्घाटन गर्दै प्रदेश प्रमुख प्रा.डा.गोविन्द बहादुर तुम्वाहाङले विकिरणबाट बच्न सावधानी अपनाउनुपर्नेमा जोड दिए । त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा.बुद्धिरत्न खड्गी, नोबेल शिक्षण अस्पतालका निर्देशक डा.राजेश नेपाल, प्रो.डा.सितारामप्रसाद ब्यहुत लगायतले पनि विकिरणबाट बच्न सबै अस्पतालहरुमा सावधानीको खाँचो औल्याए ।
राजधानीका अस्पतालहरुमा विकिरण सुरक्षा सम्बन्धि अभ्यास भइरहेतापनि मोफसलका अस्पतालहरुमा भने कमै मात्र यो अभ्यास हुने गरेको छ । अस्पतालमा प्रयोग हुने एक्सरे, म्यामोग्राफी, सीटीस्क्यान, क्याथल्याब, सिआर्म लगायतमा मानव स्वास्थ्यलाई खतरनाक विकिरण निस्कने गर्दछ ।
यी मेसिन प्रयोग गर्ने कर्मचारीहरुले विकिरणको मात्रा मापनका लागि टिएलडी ब्याज लगाउनुपर्छ । सोहि ब्याच लगाउने अभ्यासलाई १ नम्बर प्रदेशमा पनि विस्तार गर्न कार्यशाला गरिएको हो ।
कार्यक्रममा नोबेलका डा.तेजेन्द्र कार्की, नास्टका डा.बुद्धराम शाह र बीर अस्पतालका डा.कञ्चनप्रसाद अधिकारीले विकिरण सुरक्षा र सावधानीका विषयमा जानकारी गराए । कार्यक्रममा १ नम्बर प्रदेशका विभिन्न अस्पतालबाट करिब सय जना सहभागि भएको नोबेल अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले जानकारी दिए ।
“








