सुनसरी गोलीकाण्डः खुर्शिदको हत्याको विरोधमा निजी विद्यालय बन्द

“
सुनसरी, असोज ५ । सुनसरीको हरिनगर गाउँपालिकास्थित रैयान स्कुलका संस्थापक अन्सारीको गोली हानी हत्या गरेको विरोधमा शुक्रबार इनरुवाका निजी क्षेत्रका सबै विद्यालय बन्द गरिएको छ ।
बिहिबार भारतीय अज्ञात समुहले सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा मौलाना खुर्शिद अन्सारीको हत्या गरेपछि प्रहरी प्रशासन समयमा नआएको भन्दै स्थानियवासीले विरोध जनाएका थिए भने आज विरोध स्वरुप प्याब्सन तथा एनप्याब्सन इनरुवाले निजि विद्यालय बन्द गरेको हो ।
सामुदायिक विद्यालय भने खुला भएको जनाइएको छ । हरिनगर गाउँपालिकामा अवस्थित रैयान स्कुलका संस्थापक अन्सारीको स्कुलबाट घर फर्कदैँ गर्दा भारतीय समुहले कन्चटमा गोली हानी हत्या गरेका थिए भने गोली हानी भाग्ने व्यक्तिलाई घेरा हाल्ने क्रममा प्रहरी र हतियारधारीबीच गोली चल्दा अन्य एक जना हरिनगरा वडा नं ४ का प्रहरी हवल्दार शिवलाल पौडेल घाइते भएका थिए ।
गोली हानी भारततर्फ भागेका हतियारधारी समूहको पिछा गरी छेक्ने क्रममा प्रहरीसँग दिउँसो पौने एघार बजे गोली हानाहान भएको हो । गोली हानाहानमा घाइते भएका प्रहरी हवल्दार पौडेलको उपचारका लागि विराटनगर पठाइएको थियो।
हत्या हुँदा प्रहरी टोली घटनास्थलमा ढिलो आइपुगेको भन्दै स्थानियवासी आक्रोशित बनेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको थियो । उनीहरुले प्रहरीसँग खोसेर सडकमा राखी विभिन्न ठाउँमा विरोध गरेका छन् ।
उनीहरुले हत्यारा पक्राउ र शान्ती सुरक्षा कायम गर्न प्रशासन समक्ष माग गरेका छन्। शुक्रबार दिउँसो जुमा पढेर शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने जनाइएको छ ।
“








