सरकारसँग उधारो सहमति नगर्ने निष्कर्षमा राजपा

वीरगञ्ज, असोज ४ । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले राजपाले कानुनभित्रै रहेर आन्दोलन गरिरहेको बताएका छन् ।

राजपा नेपाल पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका संयोजक ठाकुरले छुट्टै देशका लागि नभइ कानुनभित्रै रहेर आन्दोलन गरिहेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले राजपाका कार्यकर्तालाई झुठा मुद्धामा फसाइएको आरोप लगाए । ‘हाम्रा नेता कार्यकर्तालाई झुठा मुद्धामा फसाइएको छ, राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा नगरेपछि हामी प्रष्ट भएका छौँ, त्यसैले जे गर्नुछ त्यही गरेर देखाउनुस्, उधारो सहमति काम छैन ।’उनले भने ।

राजपा अध्यक्ष ठाकुरले संविधान संशोधनको सवालमा सरकार प्रष्ट नभएको भन्दै सरकारको आलोचना गरे । सरकारसँग पटक पटक सम्झौता भएपनि कार्यान्वयन नभएकोले अब उधारो सहमति नगर्ने निश्कर्षमा पुगेको तर्क उनले गरे ।

‘केन्द्र सरकारमा जो आएपनि मधेसको समस्यालाई स्वीकार गर्छ, असन्तुष्टि छ भन्ने मान्छ र सम्झौता पनि गर्ने गरेका छन् । तर त्यो व्यवहारमा उतार्ने काम हुँदैन’ ठाकुरले भने ।

राजपाले तत्कल पार्टी महाधिवेशनलाई प्राथमिकता दिएको भएपनि जुनसुकै समयमा आन्दोलनमा जान तयार रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =