सरकारलाई राजपाको चेतावनीः ‘जब सरकारले सुन्दैन संसद–सडक गरम हुनेछ’

धनगढी, असोज ४ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले देशभर भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार लगायतका घटना बढीरहेपनि सरकार हात बाँधेर बसेको आरोप लगाएका छन् । बिहिबार धनगढीमा पत्रकारसँग कुराकानीका क्रममा उनले सरकारले आम जनतालाई सुरक्षाको अनुभुति नै गराउन नसकेको तथा सरकार हात बाँधेर बसेको आरोप लगाएका हुन् ।

‘भ्रष्टाचार, हत्या, हिंसा, बलात्कारका घटना दिनप्रतिदिन बढीरहेका छन्, सरकार अलमलमा फसेको छ,’ महतोले भने, ‘न आम जनतालाई सरकारको अनुभुति गराउन सकेको छ, न त प्रदेश सरकार राम्ररी सञ्चालन भएका छन्,।’

साथै राजपाका नेता महतोले तीन वर्षदेखि पटक–पटक संविधान संशोधन गर्ने आश्वासन पाए पनि पुरा नभएको भन्दै सरकारलाई संविधान संशोधन गर्न आग्रह गरे । उनले थरुहट तथा मधेश आन्दोलन स्थिर मात्रै भएको समाप्त नभएको बताए । राजपा अहिले धैर्यताका साथ बसेको भन्दै उनले सरकारलाई धैर्यताको बाँध टुटेपछि नियन्त्रण गर्न गाह्रो हुने चेतावनी समेत दिए ।

उनले राजपाले वर्तमान सरकारले मधेश तथा थारूहरूको माग सम्बोधन गर्छ भन्ने आशाले अहिले समर्थन गरिरहेको बताए । ‘सरकारले इमान्दारिता देखायो भने संविधान संशोधन गर्न कुनै समस्या छैन,’ उनले भने, ‘अहिले संसदमा पनि हामी नरम भएका छौँ। जब सरकारले सुन्दैन संसद पनि गरम हुन्छ र त्यस्तै अवस्था आए सडक पनि गरम हुनेछ।’

उनले तीन वर्षदेखि पटक–पटक संविधान संशोधन गर्ने आश्वासन पाए पनि पुरा नभएको बताए। महतोले भने, ‘ मधेशी, थारु, दलित, आदिबासी, मुस्लिमका अधिकार समेट्ने गरी संविधान संशोधन गर्ने, टीकापुर हत्याकाण्डको आरोपमा पक्राउ परेका अभियूक्तलाई रिहाइ गर्ने लगायतका विषयमा तीन वर्षदेखि आश्वासन पाइरहेका छौं। तर कुनै पनि आश्वासन पूरा भएका छैनन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =