पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौतीः सभामुख महरा

“
काठमाडौँ, असोज ३ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताएका छन ।
नयाँ मिडिया प्रालिले आजदेखि शुभारम्भ गरेको नयाँपाइला अनलाइन को शुभारम्भ गर्दै सभामुख महराले भने “सङ्घीय सदनले मौलिक हकसितसम्बन्धी १६ वटा विधेयक पारित ग¥यो, पारित प्रक्रियामा व्यापक छलफल भएको छ ।” संविधान गतिशील दस्तावेज भएकाले समय र आवश्यकतानुसार संशोधन हुँदै जाने विश्वास व्यक्त गरे ।
देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न सबैलाई आह्वान गरे । सभामुख महराले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेको बताउँदै आर्थिक समृद्धिको यात्रामा अबको पत्रकारिताले ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सांसद योगेश भट्टराईले संविधानप्रदत्त अधिकारलाई कुण्ठित हुने गरी नयाँ कानून नआउने स्पष्ट पार्दै प्रेस स्वतन्त्रता हनन हुनेछैन भन्दै अर्का सांसद तेजुलाल चौधरीले संविधानप्रति सबैको अपनत्व गराउनका लागि ध्यान दिन आग्रह गर्दै संविधानप्रदत्त अधिकारमाथि कहीँकतैबाट अङ्कुश लगाउन नहुनेमा जोड दिए ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउन नहुनेमा जोड दिँदै अबको पत्रकारितालाई थप व्यावसायिक बनाउन जरुरी रहेको बताए ।
‘नयाँपाइला डट कम’का प्रधानसम्पादक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले आफ्नो अनलाइनले समाज रुपान्तरणमा समाचार, विचार र सूचना पाठकसमक्ष पु¥याउने जानकारी दिँदै आफ्ना लागि आफूले नै स्वनियम बनाएको बताए । महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले स्वतन्त्र पत्रकारिताले नै लोकतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गरे । नयाँ मिडिया अनलाइनका अध्यक्ष श्यामलाल चौधरीले पत्रकारिता आचारसंहितालाई पालना गर्दै आगामी दिनमा आफ्नो अनलाइनले विश्वसनीय सामग्री पस्किने विश्वास दिलाए ।
“








