धरानमा दिनदहाडै चोरीका घटना बढ्दै, प्रहरीलाई चोर पत्ता लगाउन सकस

धरान, असोज ३ । चाडपर्व नजिकिएसँगै चोरीका घटना बढ्न थालेका छन् । सुनसरीको धरानमा पनि दिनदहाडै घरको झ्याल ढोका फोडेर चोरी हुन थालेको पाइएको छ ।

धरान–६ पानवारी बगैंचा टोलकी रीता श्रेष्ठको घरमा दिनदहाडै ढोका फोडेर चोरी भएपछि सो घटना बाहिरिएको हो ।

श्रेष्ठका अनुसार आफू बजार गएको समयमा घरको सबै सामान चोरी भएको हो । दराजमा राखेको आफ्नो र महिला समूहको बचत समेत गरी १ लाख ५० हजार नगद र २ तोला ४ आनाको सुनको सिक्री चोरी भएको छ ।

यस्तै गत साउन २२ गते धरान–१५ मिलन चोकमा निरा राई सडकमा हिँडिरहेका बेला घाँटीमा लगाइराखेको आधा तोला सुनको सिक्री लुटिएको थियो भने भदौ २१ गते धरान–६ पानवारीकी कल्पना खतिवडाको घरमा दिउँसै चोरी भएको थियो ।

त्यतीबेला चोरले नगद १ लाख सहित मङ्गलसूत्र, प्याण्डल, चुरा र सिक्री गरी साढे तीन तोला बराबरको सुनको गहना चोरी गरेको थियो ।

धरान–१५ की निरा राईको सिक्री लुट्ने दुई जनालाई पक्राउ गरिएको र धरान–६ मा चोरी गर्नेको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सीनाले जानकारी दिए ।

यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको सनराइज बैङ्कमा, धरान–९ कलेज रोडस्थित थ्रिजी मोबाइल प्यालेस, वीपी प्रतिष्ठानको आवासबाट ६ लाख ८८ हजार बराबरको सुन र नगद तथा धरान–१३ स्थित फुस्रेबाट २ लाख ४१ हजार बराबरको सुन तथा नगद चोरीमा संलग्न भएका अपराधीहरुलाई प्रहरीले हालसम्म पनि पत्ता लगाउन सकेको छैन ।

धरानमा यस्तो अवस्था आइरहँदा पनि इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाइसकिएको दावी गर्न भने छोडेका छैनन् ।

डिएसपी निम्सीनाले केही समयअघि मात्र धरानका २१ वटा बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूसँग चाडपर्वमा आफना ग्राहक र पैसाको सुरक्षा कसरी गर्ने भन्नेबारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिसकिएको समेत बताएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =